नयाँ सदस्यता शुल्क ४ हजार तोके पछि नवलपुरका संचारकर्मीको चर्को विरोध
जेठ ३२, कावासोती । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले नयाँ सदस्यता शुल्क ४ हजार रुपैयाँ लिने निर्णय गरे पछि नवलपुरका संचारकर्मीले चर्काे विरोध गरेका छन् ।
स्थानीय संचारमाध्यमले दिने मासिक पारिश्रमिक जत्तिकै शुल्क नयाँ सदस्यता बन्दा दिनुपर्ने भएपछि सन्चारकर्मीहरुले यसको विरोध गरेका छन् ।
अन्य जिल्लामा २ हजार नयाँ सदस्यता शुल्क भए पनि नवलपुरमा दोब्बर बढी रकम तोकिए पछि मिडियामा कार्यरत संचारकर्मी अन्यौलमा परेका हुन । कावासोतीको स्थानीय टेलिभिजनमा कार्यरत मुना थापा मगरले पनि शुल्क धेरै भएको भन्दै आफू दुखी रहेको बताएकी छिन् ।
उनले आफुले पाउने मासिक तलब नै नयाँ सदस्यता शुल्कमा जाने भए पछि आवेदन भर्ने कि नभर्ने दोधारमा परेको बताईन । उनी जस्तै धेरै सन्चारकर्मीले महासंघको निर्णयको चर्काे बिरोध गरेका छन ।
यता महासंघले भने नयाँ सदस्यता शुल्क २ हजार नै भएको दाबी गरेको छ । महासंघका अनुसार २ हजार नयाँ सदस्यता शुल्क र थप २ हजार महासंघको भवन निर्माणका लागि लिने निर्णय गरिएको हो ।
यद्दपी संचारकर्मिहरुले सहयोग रकम तोकेरै लिन नमिल्ने तर्क गरेका छन । उनीहरुले सहयोग रकम स्वत स्फूर्त दिने तर तोकेरै लिन नमिल्ने बताउदै आए पनि महासंघले त्यसको बेवास्ता गर्दै आएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले यसको खुलेरै विरोध गरेको छ । महासंघले विज्ञप्ति नै जारी गरेर चर्को शुल्क लिनु श्रमजीवि पत्रकारलाई महासंघको सदस्य हुनबाट बन्चिन गर्न खोजिएको भन्दै त्यसको विरोध गरेको छ ।
प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीले पनि यस विषयमा आफूले महासंघका सम्बन्धितसँग कुरा राखेको तर सुनुवाई नभएको बताए । उनले पत्रकारहरुको असन्तुष्टि छलफलबाट टुंग्याउनु पर्नेमा जोड दिए ।
प्रेस सेन्टर नवलपुरका अध्यक्ष अर्जुन अविरलले पनि महासंघले नयाँ सदस्यको लागि निर्धारण गरेको शुल्क महंगो भएको भन्दै खुलेर विरोध गरेको छ ।