चिसापानी बासीले विद्युत कार्यालयमा ताला लगाए
नवलपरासी २ असार ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ का स्थानियहरुले विद्युत प्राधिकरण बर्दघाट प्रशाखामा तालाबन्दि गरिदिएका छन् । बर्षौ देखि विद्युत समस्या रहदै आएकोमा टान्सफर्मर जडानका लागि माग गर्दा सुनुवाई नभएको भन्दै चिसापानी ब्लक नम्बर २ का स्थानियले प्रशाखामा तालाबन्दि गरिदिएका हुन ।
अत्याधिक बढेको गर्मीमा विद्युत भोल्टेज कम आएर पंखा समेत नचल्ने स्थीति आएपछि बालबालिका र बृद्ध बृद्धाका लागि निकै समस्या भएको स्थानिय देवी माया रानाले बताएकी छन् । विद्युत भोल्टेज कम हुंदा बल्व सम्म नजल्ने अवस्था आएपछि बालबालिकाहरुले पढ्न समेत नपाएको रानाको भनाई छ ।
वडा नम्बर २ मा भोल्टेज लो को समस्या भएपछि पटक पटक निवेदन दिएको र सम्बन्धीत निकायमा समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दा समेत सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानिय लक्ष्मण बहादुर क्षेत्रीले बताएका छन् । आश्वासन दिने तर काम नगर्ने प्रबृत्तिदेखीएपछि स्थानिय आन्दोलीत भएर सवै कर्मचारीलाई कार्यकक्षबाट निकाले तालाबन्दि गरिएको क्षेत्रीले बताए ।
बर्दघाट प्रशाखाका प्रमुख हंश लाल शाहले प्राधिकरणले सबै सामान उपलब्ध गराए पनि अहिले सम्म तार नआएको र क्षेत्रिय कार्यालयबाट तार आएपछि तत्काल समस्याको समाधान हुने बताएका छन् । शाहका अनुसार क्षेत्रिय कार्यालयले टेन्डर प्रकासन गरिसकेकोले करिव १ महिना भित्र तार आउने सम्भावना रहेको बताए । स्थानियहरुले भने आफ्नो माग पुरा नभए सम्म ताला नखुल्ने बताएका छन् ।