प्रस्तावित गुठी विधेयक र लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध नवलपुरका जनजातिहरु पनि आन्दोलित (भिडियो सहित)
नवलपरासी, २ असार ।
नेपाल सरकारले प्रस्ताव गरेको गुठी विधेयक र लोकसेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध पूर्वी नवलपरासीका जनजातिहरु आन्दोलित भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरको अगुवाईमा विभिन्न जातीय संगठनहरुले सोमबार कावासोतीमा र्याली सहित विरोध प्रदर्शन गरे ।
सोमबार नेपाल आदिवासी जनजाति महासंघ जिल्ला नवलपुरले सरकारले प्रस्ताव गरेको गुठी विधेयक फिर्ता लिनुपर्ने र लोकसेवा आयोगको असमावेशी विज्ञापनलाई सच्याउनु पर्ने माग सहित प्रदर्शन गरेका हुन् ।
सभापति चोकमा रहेको आदिवासी जनजाति महासंघको कार्यालयबाट शुरु भएको र्याली कावासोतीको फलफूल चोकमा आए कोण सभामा परिणत भएको थियो ।
कोण सभामा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका अध्यक्ष राम तामाङले सरकारले प्रस्ताव गरेको गुठी विधेयकले नेवा समुदाय लगायत अन्य समुदायको सस्कार सस्कृति, परम्परालाई जोखिममा पार्ने बताउँदै गुठी विधेयक फिर्ता गर्नुपर्ने र लोकसेवा आयोग असमावेशी भएकाले लोक सेवा आयोगले जारी गरेको विज्ञापनलाई तत्काल सच्याई पुनंं विज्ञापन गर्नुपर्ने माग गरे ।
यसैगरी आदिवासी जनजाति जिल्ला उपाध्यक्ष प्रेम भुजेलले नेपाल लोक सेवा आयोगले गरेको असमावेशी विज्ञापन मौलिक हकको धारा ४२ विपरीत आयोगले सो विज्ञापन आह्वान गरेको आरोप लगाए ।
यस्तै दलित समाज अगुवा मधु सुनार, थाकस जिल्ला प्रतिनिधि ओमनारायण थनेत, गुरुङ जिल्ला अध्यक्ष ललित गुरुङ, आदिवासी जनजाति युवा जिल्ला संघका अध्यक्ष नम्सु सुनारी मगर लगायतले गुठी विधेयक सरकारले फिर्ता लिनुपर्ने र लोकसेवा आयोगको विज्ञापनलाई सच्याउनु पर्नेमा जोड दिए ।
जनजाति महासंघले यी विषयलाई सरकारले बेवास्ता गरे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।
र्यालीमा भाषा सस्कृतिको संरक्षण गर, आईएलओ महासन्धी १६९ कार्यान्वयन गर, समापनुपातिक निर्वाचन प्रणालीको सम्वैधानिक ग्यारेन्टी गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर जनजाति हरु विरोधमा उक्रिएका थिए ।
नेपाल लोक सेवा आयोगले जेठ १५ गते नौ हजार १६१ जनाका लागि विज्ञापन आह्वान गरेकामा असार १ गतेसम्म एक लाख ६० हजारको निवेदन दर्ता भइसकेको छ ।
https://youtu.be/yuvh2OdPvRs