खानेपानीको निर्वाचनमा नेकपाको भेला
अर्जुन अविरल
कावासाेती खानेपानी तथा सरसफाई उपभाेक्ता समितिकाेे अाठाैं अधिवेशनका लागि चुनावी सरगमी बढिरहेकाे छ । नेपाली काँग्रेसकाे नेतृत्वमा लाेकतान्त्रिक प्यानल र ने क पाकाे एकल प्रगतिशिल प्यानल चुनावकाे लागि तयार भएकाे छ ।
नेपाली काँग्रेसले यस अघि नै पत्रकार सम्मेलन गरेर अाफ्ना उम्मेद्वारहरू घाेषणा गरेकाे थियाे भने ने क पा मंगलबार बृहत भेला गरेर कार्यकर्ताकाे बिचमा परिचय गराउँदै उम्मेद्वार घाेषणा गरेकाे छ । कार्यकर्तालाई प्रशिक्षण सहित गरिएकाे भेलामा नेकपाको तर्फबाट उम्मेद्वार घोषणामा बोल्दै नेकपाका केन्द्रिय सदस्य किसन शर्मा गैह्रेले कम्युनिष्ट पार्टीकै नेतृत्वमा कावासोती क्षेत्रमा शुद्ध र सफा पानी खान पाईएकोले फेरी कावासोती खानेपानीमा नेतृत्व नेकपाले नै जित्नु पर्ने भन्दै सिङ्गो पार्टी पंक्तिलाई चुनावमा लाग्न आग्रह गर्नुभयो ।
त्यस्तै भेलामा बोल्दै संघिय सांसद तथा नेकपा केन्द्रिय सदस्य तिलक महतले नेकपाले विगतदेखि हालसम्म कावासोतीका स्थानियहरुले नेकपाकै नेतृत्व चाहेको र नेकपाको नेतृत्वमा रहेको संस्थाले आम उपभोक्ताबासीको चाहना अनुरुप कार्य गर्न सक्ने भएकाले फेरि पनि कावासोती खानेपानीका ग्राहकहरुले प्रगतिशिल प्यानल नेकपाका उम्मेद्वारलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । खानेपानीको निर्वाचन पार्टीको प्रतिष्ठा र कावासोतीको भविष्यसँग जोडिएको हुँदा सिङ्गो नेतृत्व पंक्ति नेकपाका उम्मेद्वारको पक्षमा लाग्न निर्देशन समेत दिनुभयो ।
संघिय सांसद समेत रहेका महतले नमुना सदरमुकाममा रहेको खानेपानी संस्थाको नेतृत्वले भोलीको जिल्लाको सदरमुकामको भविष्यसँग जोडिएकाले सचेत भएर मतदान गर्न मतदाताहरुलाई आग्रह समेत गर्नुभयो । नेकपाले कावासोती खानेपानीका लागि युवा पंक्तिलाई अगाडी सारेको छ ।
नेकपाले अध्यक्ष पदमा भिमलाल कण्डेल, उपाध्यक्षमा रमिला भुजेल, सचिवमा दिपकराज लम्साल, जनजाती महिलामा लक्ष्मी गाहा मगर, दलित महिलामा पार्वती विश्वकर्मा, वडा न २ बाट गंगा प्रसाद भट्टराई, , वडा नं. ३ बाट चेत बहादुर अधिकारी, वडा नं. ५ बाट प्रकाश भण्डारी, वडा नं. ६ बाट ओम प्रकाश चापागाई, वडा नं. ८ बाट शिवलाल चापागाई र वडा नं. ९ बाट ऋषि श्रेष्ठलाई उम्मेद्वार बनाएको छ त्यस्तै लेखा समितिको संयोजकमा चिन्तामणी पौडेल, लेखा सदस्य रेशम चाँपागाई र लिला थनेतलाई अघि सारेको छ । घोषणा सभामा नेकपाका गण्डकी प्रदेश सदस्य तथा पूर्व सांसद् कृष्ण पौडेल, प्रदेश सभा सदस्यहरु, जिल्लाका जिल्ला नेता सहित घोषणा गरेको थियो ।
बृहत भेला नेकपा खानेपानी चुनाव प्रचार प्रसार समितिका संयोजक बिष्णु प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो । निर्वाचन समितिले आगामी असार १४ गते मतदान गर्ने गरी कार्यक्रम तालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार असार ४ गते उम्मेद्वारी दर्ताको मिति तय गरिएको छ भने असार ७ गते अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । कावासोती खानेपानीको लेखा समिति सहित १४ पदका लागि निर्वाचन हुने भएको हाे ।