कावासोती नगरपालिकाको बजेट अठासी करोड छब्बीस लाख सत्तरी हजार रुपैयाँ (पूर्ण पाठ सहित)

कावासोती, १० असार । कावासोती नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ का लागि नीति, कार्यक्रम तथा वजेट घोषणा गरेको छ । कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नगर प्रमुख चन्द्रकुमारी पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख प्रेम शंकर मर्दनियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे।
कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नगरप्रमुख पुनले चालु आर्थिक वर्षका उपलब्धिलाई समेत समेट्दै नगरपालिकाले फजुल खर्च न्युनीकरणमा प्लाष्टिक खादा तथा मायाको चिनो निषेध गरिएको बताए ।
त्यस्तै उनले एकादशी बजारलाई करको दायरामा ल्याईएको, नदीजन्य पदार्थको व्यवस्थापन मार्फत संकलित राजश्वमा ३ सय २२ प्रतिसतले बृद्धि भएको, विज्ञापन करमा १५ प्रतिसत बढीमा ठेक्का, विपन्न तथा सिमान्तकृत परिवारलाई घर निर्माण, तथा वडा नम्वर ९ र १५ को वडा कार्यालय भवन निर्माण अन्तिम अवस्थामा पुगेको लगायतका जानकारी गराएका थिए ।

नगर प्रमुख पुनले आगामी वर्षका नीति तथा कार्यक्रममा अनाथ, सडक बालबालिकाका लागि निशुल्क शिक्षा, बालमैत्री नगर निर्माणका लागि सुचाङ्क केन्द्रित योजना निर्माण तथा कार्यक्रम, वडा नम्वर ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा बिकास, कृषिमा बिउ, बिजन औजार तथा उपकरणमा ५० प्रतिसत सहुलियत, केरुङ्गे खोला तटबन्ध र बस्ती संरक्षण, मुसहर समुदायका बिद्यार्थीका लागि निशुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरता, बालुवाडाँडामा निर्माणाधिन भ्यू टावरको निर्माण आगामी बर्षमा पूरा गर्ने लक्ष्य, युवा स्वरोजगार कार्यक्रम, जिल्लास्तरीय खेलकुदहरु सञ्चालन, नगरपालिका क्षेत्रभित्रका संग्राहालयको स्तरोन्नति, बिद्यालय समायोजनलाई प्रोत्साहन, सुकुम्बासीको तथ्याङ्क बिद्युतिय प्रबिधिमा प्रबिष्ट गरी समस्या समाधानमा पहल, नगरपालिकाका गतिबिधिलाई स्थानीय सञ्चार माध्यमबाट सु–सुचित गर्ने, न्यायिक समितिको कार्य सम्पादनलाई इजलासको ढाँचामा व्यवस्थित गर्दै थप चुस्त बनाउन विद्युतीय प्रणालीमा अध्यावधिक गरिने लगायतका आगामी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कावासोती नगरपालिकाको आगामी आर्थिक बर्षको लागी जम्मा बजेट खर्च रकम अठासी करोड छब्बीस लाख सत्तरी हजार रुपैयाँ रहेको छ ।
कावासोती नगरपालिकको पाँचौ नगरसभामा नगर उप–प्रमुख पे्रमशंकर मर्दनिया थारुले रु। ८८ करोड २६ लाख ७० हजारको बजेट प्रस्तुत गरेका छन् । विनियोजित बजेट मध्य चालुतर्फ सशर्त बाहेक रु ९ करोड ४ लाख ७५ हजार , पुँजिगत तर्फ ३० करोड ९३ लाख २३ हजार र शसर्त तर्फ ३२ करोड ८८ लाख ७० हजार र सामाजिक सुरक्षा तर्फ ९ करोड ५० लाख रहेको छ । बजेटले आर्थिक विकास, पूर्वाधार विकास,कृषी लाई प्राथमिकता दिएको छ ।
कावासोती नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम (पूर्ण पाठ)
