पत्रकार र आन्दोलन (सम्पादकीय)


नेपाल पत्रकार महासंघ नवलपुर शाखासँग विभिन्न माग राखेर नवलपुरका पत्रकार संगठनहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरण, नयाँ सदस्यताको शुल्क, नयाँ सदस्यता, आर्थिक पारदर्शिता लगायतका विषयलाई लिएर आन्दोलन थालिएको हो। आन्दोलन पछि समस्याको समाधान होला भन्दा पनि समस्या बढ्ने र नवलपुरका पत्रकारहरुबीच द्वन्द बढ्ने देखिएको छ।
महासंघ आफैले पनि केही माग पुरा गरिसकेको छ भने केही माग पुरा हुने चरणमा रहेको जनाएको छ तर पेशागत संगठनहरुले गरेको आन्दोलनलाई आन्दोलनको संज्ञा नै नदिएर अराजक तत्व भन्नु यो आन्दोलनलाई नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले घोषणा गरेको मिडिया काउन्सिल विधयक आन्दोलनसँग जोडेर उक्त आन्दोलनलाई असफल गराउन आन्दोलन थालिएको ढंगले जिम्मेवार पदाधिकारीबाटै अभिव्यक्ति आउनु राम्रो संकेत होइन् ।
सामान्य मागहरु राखेर गरिएको आन्दोलनलाई साम्य पार्न वार्ता तथा संवादको ढोकालाई बन्द गरेर जान सबैको साझा संस्थाको रुपमा मानिएको नेपाल पत्रकार महासंघको नेतृत्व पंक्ति र कार्यसमितिले हिच्किचाउनु हुँदैन । वार्ता र छलफलबाट जस्तो सुकै समस्याको पनि समाधान निष्कन्छ तर वार्ता, संवादलाई चासो नदिएर दुवै पक्षले वक्तव्यकै भरमा माग राख्ने र उत्तर दिने भन्दा पनि आन्दोलन गर्नेले आन्दोलन थालिसकेपछि संवादका लागि बोलाउनु आवश्यक छ । महासंघ त्यतिबेला मात्र सबैको साझा हुन्छ जति बेला महासंघको नेतृत्वमा रहेको पंक्तिले महासंघ सबै पत्रकारहरुको साझा संस्था हो भनेर आभास दिलाउन सक्छ। न कि महासंघ कै सदस्य नभएकोहरुको भिडले गरेको आन्दोलन, महासंघमा पराजित भएकाहरुको आन्दोलन भनेर व्याख्या गर्नु र माग जायज नाजायज जे भए पनि त्यसलाई ठाडै इन्कार गर्नु राम्रो पक्ष होइन । यसका लागि नेतृत्व पक्षले ध्यान दिनु आवश्यक छ ।







सम्बन्धित
Loading...