आफै प्याड बनाउन सिक्दै देवचुलीका महिलाहरु


राजु चापागाई, 
देवचुली, ५ साउन ।
नवलपुरको देवचुलीमा महिनावारी सरसफाइ तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ ।
दीगो खानेपानी तथा क्षमता अभिवृद्धि परियोजना (नापा वास) को आयोजनामा देवचुली नगरपालिकाका वडा ६ देखि ९ का महिला स्वास्थ्य स्वयंसेविकाहरु र आमा समुहहरुका प्रतिनिधिहरुलाई देवचुली खानेपानी संस्थाको सभाहलमा तालिमको आयोजना गरिएको हो । महिलाहरुलाई महिनावारीका समयमा हुने विभिन्न समस्या र समाधानका उपायहरू तथा बजारिया प्याडको सट्टामा घरमै प्याड बनाई प्रयोग गर्न उत्प्रेरित गर्नका लागि तालिमको आयोजना गरिएको परियोजना संयोजक प्रवीण घिमिरेले जानकारी दिए ।




तालिमको उदघाटन सत्रमा मन्तव्य राख्दै देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले महिलाहरूलाई बजारिया प्याडहरु प्रयोग गर्दा विभिन्न रोगहरुको संक्रमित हुन सक्ने भएकाले घरमै प्याड निर्माण गरी प्रयोग गर्नका लागि सबैलाई आग्रह गरे ।
उनले देवचुली नगरपालिकाबाट यस आर्थिक वर्षमा महिलाहरुका लागि घरमै निर्मित प्याड निर्माणका लागि तालीम आयोजना गर्नका लागि बजेट विनियोजन गरिएको बताए ।
तालिममा महिनावारी सरसफाइ सम्बन्धि यानमाया गुरुङ र राजु चापागाईले तथा सेनेटरी प्याड निर्माणका लागि किशोरी अभियन्ता दीपा बिकले सहजीकरण गरेका थिए ।


देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुमीसरा आलेको अध्यक्षता भएको कार्यक्रममा देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पराजुली लगायतले आफ्नो विचार राखेका थिए । तालिममा देवचुली वडा न ६ देखि ९ का महिला स्वास्थ्य स्वयंसेविकाहरु र प्रत्येक वडाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
देवचुली नगरपालिका वडा न ६ देखि ९ लाई २०७३ सालमा पुर्ण सरसफाई तथा वातावरणमैत्री वडा घोषणा गरिएको थियो । त्यसैको निरन्तरताका लागि नापा वासले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।



सम्बन्धित
Loading...