बाउन्न घोला सिमसार क्षेत्रमा पानी जम्मा हुन थाल्यो


नवलपरासी साउन ७



सँसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा बर्दघाट नगरपालिकाले निर्माण गरेको कृत्रिम सिमसार क्षेत्रमा पानी जम्मा हुन थालेको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा पर्ने सामुदायिक वन क्षेत्रको करिव १० हेक्टर क्षेत्रफललाई सिमसार क्षेत्र बनाउने ध्येयका साथ २०७५ चैत्र मा बाँध निर्माणको काम सम्पन्न भएको  थियो ।




बाउन्न घोला सिमसार क्षेत्र निर्माण समितिको गठन गरी २०६५ सालबाटै सिमसार निर्माणको अवधारणा अघि ल्याइए पनि गतवर्ष मात्र सिमसार क्षेत्र निर्माणको काम अघि बढेको थियो । सिमसार क्षेत्रको पुछारमा करिव ९० मिटर लामो बाँध बाँधेर पानी अड्याउने र करिव १० हेक्टर क्षेत्रफललाई सिमसार बनाउने लक्ष्य लिइए पनि पानी जम्मा हुने वा नहुनेमा द्धिविधा भएकोमा केहि दिन अघि परेको पानी जम्मा भएको हो । बाँध आसपास करिव ५ फुट पानी जम्मा भएको सँसारकोट हरियाली सामुदायिक वनका सचिव प्रेम प्रसाद अधिकारीले बताए ।  उनले भने सामुदायिक वन क्षेत्रमा सिमसार बनाउँदा वातावरणिय सन्तुलन कायम हुने, वन डढेलो हुनबाट केहि हदसम्म भएपनि कमी हुने, वन्यजन्तुको लागि पानी र आहाल खेल्ने ठाँउको ब्यवस्थापन हुने भएकोले सामुदायिक वनले सिमसार निर्माणका लागि सहकार्य गरेका छौँ ।

बर्दघाट नगरपालिकाको वडा नम्बर १० मा रहेको सिमसार चुरेको सिमानामा रहेको र सँकलित पानीले दक्षिणी भेगको ठूलो क्षेत्रफलमा सिँचाइको लागि समेत प्रयोग गर्न सकिने स्थानियवासी खेम बहादुर रानाले बताए । उनले भने अहिले बाँधमात्र बाँध्ने काम भएको छ, यति ठूलो क्षेत्रफलमा फैलिने तालमा भएका झाडी बुट्यान सफा गरेर नौका विहार, मत्स्यपालन गर्न सके आम्दानी पनि हुने र पर्यटनमा समेत टेवा पुग्न सक्छ । करिव १० वर्ष अघिदेखी सिमसार निर्माणको प्रसँग चलेपनि गतवर्ष मात्र काम सुरु भएको छ, तत्कालका लागि एउटा बाँध निर्माण गरेर पानी अड्याउँदा दिर्घकालिन स्थायित्व रहनेमा बाउन्न घोला सिमसार निर्माण समितिका अध्यक्ष कुलदेव श्रेष्ठको शँका रहेको छ । उनले भने ‘तत्कालका लागि करिव ९० मिटर लामो र ३ मिटर अग्लो बाँधले केहि पानी त थेग्ला तर करिव १० हेक्टर क्षेत्रफलमा पानी अड्याउन यो बाँध पर्याप्त हुँदैन र स्थायित्व कायम राख्न ठूलो प्रोजेक्टको रुपमा डिपिआर नै तयार गरी काम अघि बढाउनु पर्छ ।’

नगरपालिकाले पर्यापर्यटन क्षेत्रलाई विकास गर्ने प्रमुख उद्देश्यले सिमसार क्षेत्र निर्माण गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बश्यालले बताए । उनले भने वातावरणिय सन्तुलन मिलाउन, जमिनमुनीको पानीको सतह घटदै गएको अवस्थामा सिमसार क्षेत्रले रिचार्ज पोखरीको रुपमा समेत काम गर्ने, वन्यजन्तु र चराचुरुङ्गीहरु प्राकृतिक रुपमा रमाउन सकुन भन्ने उद्देश्यले सिमसार निर्माणलाई प्राथमिकतामा राखेको बताए । उनले पर्यापर्यटन सँगै जम्मा भएको पानीलाई सिँचाइको रुपमा प्रयोग गरि कृषकहरु समेत लाभान्वित हुने भएकोले नगरपालिकाले सिमसार क्षेत्रको विकास निर्माणलाई प्राथमिकतामा राखेको बताए ।

करिव ६ महिना अघि निर्मित बाँधको केहि भागको माटो भस्किएकोले प्रोटेक्सन वाल निर्माणको प्रकृया अघि बढाइएको छ । करिव ११ लाख रुपैयामा निर्माण भएको बाँधलाई थप सुरक्षित बनाउन बाँधसँगै करिव २१ लाख रुपैयामा प्रोटेक्सन वाल निर्माण सुरु भएपनि २ लाख बराबरको काम हुँदैगर्दा निर्माणकार्य विचमै रोकिएको छ । यसले बाँध जोखिममा पर्ने सम्भावना समेत देखिएको वन समितिका सचिव अधिकारी बताउँछन । पूर्व पश्चिम राजमार्गबाट करिव २ किलोमिटर उत्तरमा रहेको सिमसार क्षेत्रमा पछिल्लो समय मृग, बँदेल, मयुर लगायत यसअघि नदेखिएका चराहरु देखिन थालेको सचिव अधिकारीले जानकारी दिए ।



सम्बन्धित
Loading...