संविधान संशोधन नभए सरकारमा रहनुको औचित्य छैनः डा. भट्टराई





रामकुमार श्रेष्ठ –
नवलपरासी। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संविधान संसोधन नगरे सरकारमा बसिरहनुको औचित्य नहुने बताएका छन् ।
विहीबार कावासोतीमा समाजवादी पार्टी नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
डा. भट्टराईले भने संघीय समाजवादी फोरम सरकारमा सामेल हुँदाको बेलाको सहमति अनुसार यो सरकारले संविधान संशोधन गर्नु पर्छ । यति गरिदैन र सहमति अनुसार संसोधन भएन भने हामी सरकारमा बस्दैनौं ।
उनले यस विषयमा पार्टीले सरकारसँग एक चरण छलफल गर्ने पनि बताए ।
उनले नेकपा पार्टी कम्युनिष्ट पार्टीकै बदनाम गर्ने गरी अगाडि बढेको र नेपाली काँग्रेस पतन भईसकेकोले नयाँ वैकल्पिक शक्तिको रुपमा तत्कालिन नेकपा एमाले, नेपाली काँग्रेस र राप्रपा बाहेकको शक्तिहरु एक हुन सक्ने फोरमको रुपमा समाजवादी पार्टीलाई अगाडि ल्याएको पनि दावी गरे ।
यसैबीच विहीबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकता पछिको जिल्ला जिल्ला समायोजन कार्यक्रम भएको छ ।
कावासोतीमा भएको जिल्ला समायोजन कार्यक्रममा डा. बाबुराम भट्टराई, अशोक राई लगायतले शुभकामना तथा प्रशिक्षण दिएका थिए ।
समायोजन भेलाले धनबहादुर गुरुङको नेतृत्वमा जिल्ला कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा जगतकाजी गुरुङ, भोजबहादुर महत, शिव विक, देवीसरा पुलामी मगर, भिमबहादुर विश्वकर्मा रहेका छन् ।
त्यसैगरी सचिवमा जगन्नाथ अर्याल, सहसचिवमा छविलाल प्रधान र कोषाध्यक्षमा प्रकाश सापकोटा चयन भएका छन् ।

कार्यक्रममा विभिन्न पार्टीबाट समाजवादी पार्टीमा प्रवेश समेत गरेका थिए ।







सम्बन्धित
Loading...