प्रदेश ५ भुकम्पीय दृष्टिकोणले उच्च जोखिममा
बुटवल, १३ असोज । प्रदेश नं ५ भूकम्पीय उच्च जोखिममा रहेको एक भूगर्भ बिज्ञले बताएका छन् ।
भूगर्भ बिज्ञको रुपमा काम गर्दै आएका डा. दिपक गौतमले भूकम्पीय जोखिमका हिसाबले प्रदेश नं ५ काठमाण्डौ पछि दोस्रो नम्बरमा रहेको बताए । काठमाण्डौ माटोको कारणले र प्रदेश नं ५ भौगर्भिक दरारका कारणले भूकम्पको उच्च जोखिममा रहेको उनको बिष्लेषण छ ।
चलायमान भौगर्भिक सक्रिय दरार नेपालमा उच्च हिमालको अग्रभागमा रहेकोले पूर्व देखि पश्चिम सम्म भुकम्प जाने गरेको उनले बताए ।
उनका अनुसार पूर्व,मध्ये र पश्चिम नेपालमा भूकम्पका केन्द्रबिन्दु केन्द्रीकृत छन् । हिमालयको सबै भन्दा सक्रिय दरार प्रदेश नं ५ अन्तर्गतका चुरे पहाडको अग्रभागमा रहेकाले प्रदेश नं ५ भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा रहेको उनको भनाई छ ।
भौगर्भिक अध्ययन बिना सडक खनिएका कारण बुटवल–पाल्पा सडक खण्डका बिभिन्न भागमा पहिरो खसिरहने गरेको उनले बताए ।
हालै रुपन्देहीको तिलोत्तमामा आयोजित बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नीति र रणनीतिक कार्ययोजना तर्जुमा सम्बन्धी कार्यक्रममा भेटिएका उनले बुटवल अनलाइनसँगको संक्षिप्त कुराकानीमा उक्त कुरा बताएका हुन ।
सो अवसरमा उनले नेपाल र प्रदेश नं ५ मा बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन बारे कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।
