बर्दघाटमा विपद व्यवस्थापन अभिमुखीकरण
नवलपरासी २७ असोज ः पश्चिम नवलपरासीको ईलाका प्रहरी कार्यालय बर्दघाटको आयोजनामा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसको अवसरमा बिपद् ब्यवस्थापन सम्बन्धि अभिमुखीरकण बर्दघाटमा सोमवार भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बर्दघाट नगरपालिकाकी उपप्रमुख मायादेवी पौडेलले विपद पूर्व तयारी गर्नुका लागि सबै सरकोरावालाबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले विपद पूर्व तयारीका लागि नगरले योजनाबद्ध ढंगबाट काम गर्न चाहेको र त्यसका लागि बजेट व्यवस्था समेत गरिएको जानकारी दिए ।

कार्यक्रममा बिशेष अतिथि बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ए.व कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमालले विपद पूर्व तयारी, उद्धार, राहत र पुर्ननिर्माणको प्रक्रिया हुने उल्लेख गरेका थिए ।
उनले पूर्व तयारी नहुनु उद्धार र राहत प्रचारमुखी मात्र हुनु र पुर्ननिर्माणको कामै नगरिनु जस्ता प्रवृतिगत समस्या रहेको बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख एंव प्रहरी निरिक्षक हिमबहादुर केसीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरे ।
कार्यक्रम ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक हिमबहादुर केसीको अध्यक्षता नायव प्रहरी निरिक्षक भवानी प्रसाद धमलाको संचालनमा भएको थियो ।
संयुक्त राष्ट्र संघले सन १९८९ देखि हरेक बर्ष अक्टुबर १३ लाई विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउदै आएको छ ।
