सभामुख नेकपाले राखे कांग्रेसलाई उपसभामुख दिनु उपयुक्त: नेता झलनाथ खनाल
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रतिनिधि सभाको उपसभामुख पद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिँदा ‘उपयुक्त हुने’ बताएका छन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुख मध्ये एउटा पदमा आफ्नो दलको दाबी रहने जनाएका छन्। अहिले नेकपाबाट निर्वाचित शिवमाया तुम्बाहाङफे उपसभामुख छन्। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले ‘सभामुख आफ्नै पार्टीले राख्नेमा विवाद नरहेको’ बीबीसीलाई बताएका थिए।
संविधानमा फरक लिङ्ग र पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था छ। सभामुख नेकपाले लिनका निम्ति उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ। वरिष्ठ नेता खनालले भने, “प्रमुख विपक्षीसँग राम्रो सम्बन्ध राखेर जानु राम्रो हुन्छ। तर पनि यसबारे औपचारिक छलफलमा जे निष्कर्ष हुन्छ त्यसअनुसार नै गरिन्छ।”
प्रमुख प्रतिपक्षी दललाई उपसभामुख दिनु व्यक्तिगत रूपमा कतिको उपयुक्त देख्नुहुन्छ? भन्ने प्रश्नमा नेता खनालको सङ्क्षिप्त जवाफ थियो, “उपयुक्त हुन्छ।” ‘प्रतिपक्षीसँग र अरू पार्टीहरूसँग पनि सहमति गरेर जानुपर्ने’ नेता खनालको भनाइ छ।
यही बेला कांग्रेसले प्रतिनिधिसभाका दुई मध्ये एक पदमा आफ्नो दाबी रहने जनाएको छ। तर संविधानको व्यवस्था पछ्याउन नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा पद कांग्रेस बाहेकका पार्टीलाई दिन सक्ने ठाउँ पनि छ।
त्यो सम्भावना देखाउँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “त्यस्तोमा बोल्ने ठाउँ त संविधानको अक्षरले दिँदैन। तर त्यसको भावना संसद्मा सत्तापक्षले विपक्षीलाई पनि सँगै लिएर जानुपर्छ भन्ने हो।” कतिपयले सत्तापक्षप्रति आक्रामक देखिएको कांग्रेसलाई नजिक ल्याउन सत्तापक्षले कांग्रेसलाई उपसभामुख दिएर उदारता देखाउन सक्ने ठानेका छन्।
– बीबीसी
