नवलपुरका लोकदोहोरी गायक गुरुङ कास्कीमा पक्राउ

चर्चित लोकदोहोरी गायक राजन गुरुङ लाई कुटपिट गरेको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।
गाडीको विषयलाई लिएर गायक गुरुङले एक डाक्टरलाई जिल्ला ट्राफिक कार्यालय कास्की भित्रै कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको हो । ट्राफिक कार्यालयमा असोज २८ गते घटना घटेको थियो ।
लोकदोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य समेत रहेका गुरुङले प्राइभेट कारको लेनदेनको विषयलाई लिएर विवाद भएपछि डाक्टरलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता राजेन्द्र केसीले बताए ।
‘गुरुङले डाक्टरलाई हातपात गरेपछि पक्राउ गरेका हौँ,’ डिएसपी केसीले भने, ‘गुरुङ विरुद्ध सार्वजनिक मुद्धा दर्ता भई हिरासतमा राखिएको छ ।’स्रोतका अनुसार ति डाक्टरले एउटा कार किनेका थिए । सोही कारको लेनदेनको विषयमा कुरा नमिलेपछि जिल्ला ट्राफिक कार्यालयमा मौखिक उजुरीका आधारमा गुरुङ र डाक्टरलाई बोलाइएको थियो । सोही विषयमा छलफल हुने क्रममा विवाद सुरु भएको स्रोतले बतायो ।
‘राजनले एक्कासी डाक्टरलाई एक झापड हाने र चाबी खोस्दा खल्ती समेत च्यातिदिए,’ स्रोतले भन्यो, ‘यसरी ट्राफिककै अगाडी हातपात गर्नु गुरुङको ठूलो गल्ती हो ।’