नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो सुरुङमार्गको चन्द्रागिरी नगरपालिका– १, टोटी टोलमा आयोजित एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।
जापानिज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको उक्त सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट सुरू भएर टोटी टोलमा टुंगिन्छ । आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर लम्बाइको उक्त सुरुङमार्ग ४२ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिइएको हो ।
आयोजना प्रमुख खरेलका अनुसार जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब गरी २२ अर्ब रुपैयाँको लगानीमा सो सुरूङमार्ग बन्न लागेको हो । शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काम भन्दा कुरा काट्नेहरुको जमातलाई सुधार्नुपर्ने बताएका छन्। सिस्नेरी–नागढुंगा सुरुङमार्गको सोमबार चन्द्रागिरि नगरपालिका स्थित टोटेपाखामा शिलान्यास गरेपछि सम्बोधन गर्दै ओलीले सरकारले काम गरिरहे पनि एउटा जमात कुरा काट्न लागिरहेको बताए। ‘हामीमाझकाम नगर्ने अनि कुरा काटेर मात्रै बस्नेहरुको जमात छ’, उनले भने, ‘उनीहरुलाई कुरा काट्ने होइन, काम गर्ने बनाउनुछ।’ विस्तारका क्रममा अलपत्र कलंकी–नागढुंगा सडकखण्ड अब बनिसकेको बताउँदै गीत गाउने बहाना सकिएको उल्लेख गरे।