देखिन छाड्यो सयपत्री, प्लास्टिकका मालाले झिलीमिली बजार


कात्तिक ७, २०७६




दैलेख : पहाडी जिल्लामा फुल्ने मखमली र सयपत्री फुलहरू आजभोलि देखिन छाडेका छन्। दिदी-बहिनीले दाजु-भाइलाई टीका लगाएर निकै खुसीका साथ बनाउने पर्व तिहार नजिकिएसँगै बजार प्लास्टिकका मालाले झिलिमिली देखिन थालेका छन्।

तिहारमा खास गरी दिदी-बहिनीले आफ्ना दाजु-भाइलाई सप्तरंगी टीकासँगै मखमली, गुरधौली, सयपत्रीलगायतका फूलका माला लगाएर धार्मिक विधिअनुसार तिहार पर्व मनाइने गरिन्छ। पछिल्ला केही वर्षयता गाउँघरमा पाइने मखमलीलगायतका फूलको साटो अहिले गाउँ तथा बजारमा प्लास्टिकका मालाले झिलिमिली भएका देख्न सकिन्छ।
फूल र बत्तीहरूको पर्व भनेर चिनिने पर्वमा फूलसमेत प्लास्टिकका आउन थालेपछि मानिसहरू अल्छी भएको र परम्परा बिर्सिदै गएको भान हुन थालेको स्थानीय बताउँछन्। अहिले सदरमुकाम आसपासमा प्लास्टिकका फूलका माला बजारमा धेरै कारोबार हुने गरेको स्थानीय सिवराज जैसीले बताए। ‘पहिलेका दिनहरूमा तिहार आउँदा दिदी-बहिनीले दाजु-भाइलाई माला लगाउने फूलहरू तिहार आउन तीन/चार दिनअगाडि खोजेर पानीमा भिजाउँदै राख्ने परम्परा थियो’ स्थानीय नमरा सुबेदी भन्छन् ‘गला भरी सयपत्री र मखमली लाउँदा तिहार मनाए जस्तो लाग्थ्यो। अहिले त ती मखमली सयपत्री देखिन छाडेका छन्। गाउँमा पाइन्छ, तर त्यस्ता फूलको प्रयोग हुन छाडेको छ।’  सुवेदीले बजारदेखि गाउँमा जताततै प्लास्टिकका फूलमात्रै भेटिने गरेको भन्दै पहिलेभन्दा अहिले आफूलाई तिहारको रौनक हराए जस्तो लागेको बताए। ‘तिहार उती बेलाको रमाइलो हुन्थ्यो। दिदी-बहिनीले गला भरी गुरधौली र मखमली फुलका माला लगाइन्थे। अहिले जताततै प्लास्टिकका मालाले झिलिमिली देखिन्छ’ उनले भने।
बाहिरी मुलुकबाट आयात गरिने प्लास्टिकका मालाहरू बजारमा प्रशस्त मात्रामा पाउने गरेकाले स्थानीयस्तरमा पाइने फूलहरू पाउँन छोडेकाले पहिलेको भन्दा तिहारको रौँनक हराउदैँ गएको  देखिन्छन्।  सिजनमा २ लाखसम्म व्यापार  दैलेख बजारमा लामो समयदेखि पलास्टिकको व्यवसाय गदै आयका जयबहादुर श्रेष्ठले पहिलेभन्दा पछिल्लो समय मालाको व्यापार बढ्दै गएको बताए। तीन/चार वर्षअगाडि सिजनमा २० देखि २५ हजारको आम्दानी हुने गरेको भएपनि यस वर्षका लागि आफूले १५ हजार प्लास्टिकका माला मगाएको बताए। यो सिजनमा २ लाखसम्मको व्यापार हुने आशा गरेको उनले बताए। अर्का व्यापारी ईसाफ अली भन्छन् ‘पहिलेभन्दा अहिले प्लास्टिकका मालाबाट राम्रो आम्दानी हुने गरेको छ।’ सिजनमा प्रत्येक वर्ष एक लाखसम्मका प्लास्टिकका माला बिक्री गर्ने गरेको उनले बताए। उनले पहिले-पहिले स्थानीयस्तरमा पाइने फूलहरू ल्याएर बिक्री गर्थे। पछिल्ला केही वर्षयता गाउँमा फूल पाउन छोडेपछि नेपालगन्जलगायतका बजारबाट प्लास्टिकका माला खरिद गरेर बिक्री गर्दै आएको अलीले बताए।





सम्बन्धित
Loading...