आज तिहारको भाइ टिका, टिकाको साइत ११ः५५ मा

आज भाइटीका, तिहारको अन्तिम दिन । हिन्दु नेपालीहरुले दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।
भाइटीकाको साइत ११ः५५ बजे वजे उत्तम मानिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत मङ्गलबार बिहान ११ः५५ बजे उत्तम रहेको जनाएको छ ।
समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि बिहान ११ः५५ बजे उत्तम साइत रहेको बताए ।
भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने चलन छ । साथै सप्तरंगी टिकासँगै आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।
दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौँको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् ।
यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
टिका लगाउँदा दाजु भाइलाइ दिन भाइमसला तयार पारिन्छ ।
अन्तिम दिन भाइटिका लगाउने चलन छ । दियो, कलश पुज्ने, यमराज बोलाउने गरिन्छ । विमिरो, ओखर फोरिन्छ । यमराज, हनुमान, विभिषण र परशुरामको पुजा गरिन्छ । पानी र तेलको घेरा बनाएर दाजुभाइलाई छेकिन्छ । दिदीबहिनीले दाजु भाइलाई सप्तरंगी टिका लगाइदिन्छ ।
ठाडो धर्साे तानेर त्यसमा पहेंलो, सुन्तला, नीलो, हरियो, सेतो, कालो र रातो रंग टिक टिक पारेर लगाइन्छ । विधिपूर्वक दाजुभाइलाई पुजा गरिन्छ । मिठाइ, फलफुल, मसलाजस्ता खानेकेरा दिइन्छ । कहिल्यै नओइलाउने मखमली, दुवो र कहिल्यै रंग नउड्ने सयपत्रीको माला लगाइन्छ । दाजुभाइको दीर्घजीवनको कामना गरिन्छ ।
दाजुभाइ र दिदीवहिनीको आत्मिय र पवित्र नाता उजागर हुन्छ यो चाडमा । तिहार साकाहारीको सन्देश दिने चाड हो । देउसी भैलो जताततै गुञ्जेको हुन्छ । त्यही भएर लोकसंस्कृतिलाई बढावा दिने पर्व पनि हो तिहार ।