प्रधानमन्त्री राति या भाेलिसम्ममा डिस्चार्ज हुने
काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षणका लागि गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष आईसीयूमा राखेर उपचार भइरहेको छ । उनलाई आज अबेर वा भोली मात्र डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा गडबडी भएपछि बिहान साढे १० को समयमा ग्राण्डीमा पुर्याइएका प्रधानमन्त्री ओलीको त्यहाँस्थित आईसीयूको बेड नम्बर १४१६ मा राखेर उपचार थालिएको हो। स्रोतका अनुसार मिर्गौलामा समस्या देखिएपछि प्रम ओलीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
बुधबार विहान नियमित स्वास्थ्य परीक्षणका लागि भनी अस्पताल गएका प्रधानमन्त्री ओली त्यहीँ भर्ना भएका हुन् ।
स्वास्थ्य परीक्षण पूरा नभएकाले प्रधानमन्त्री ओली बुधबार राति अस्पतालमा नै रहन सक्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र अस्पतालकै नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जनाएका छन् ।
‘सम्माननीयज्यूको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति वा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ’ विज्ञप्तिमा भनिएको छ ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाएको छ ।
