भर्खरैै: दाङमा हायसले अटोलाई ठक्कर दिदा – १ महिलाको मृत्यु, ५ जना घाइते




नारायण खड्का,

दाङ, १३ कात्तिक। तुलसीपुरमा हायसले अटोलाई ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने थप पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय लक्ष्मी चौधरीको मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुुर्याए लगतै बुधवार बेलुका साढे ७ बजेतिर चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा परि चौधरीकी १७ महिनाकी छोरी अदिती चौधरी र तुलसीपुर १६ कै अन्दाजी ६० बर्षीय अर्का एक पुरुष गम्भीर घाइते भएका छन् । अदिती र नाम खुल्न नसकेका अर्का एक पुरुषलाई तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।
त्यो दुर्घटनामा परि अटो चालक तुलसीपुर १६ उत्तरकुरहरिया निवासी २७ बर्षीय ज्ञानबहादुर चौधरी, सोही ठाउँका अन्दाजी २४ बर्षीय प्रविण चौधरी र घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी अन्दाजी २३ बर्षीय विजय चौधरी घाइते भएका छन् । उनीहरु सबैको उपचार तुलसपुरमै भइरहेको छ ।




तुलसीपुर बजारबाट दक्षिण तर्फ जाँदै गरेको रा १ ह ३५४९ नम्वरको अटोलाई नेपालगञ्जवाट तुलसीपुर बजार तर्फ आउँदै गरेको बा २ ख ३९५९ नम्वरको हायसले तुलसीपुरको स्टारचोकमा बुधवार बेलुका सवा ७ बजेतिर ठक्कर दिदा उक्त दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा डिएसपी हरिहरनाथ योगीले मृतक लक्ष्मी चौधरी अटो चालक ज्ञानबहादुर चौधरीको पत्नि रहेको जानकारी दिए । १७ महिनाकी गम्भीर घाइते अदिती चौधरीपनि उनीहरुको छोरी भएको प्रहरीले बताएको छ । डिएसपी योगीले एकजना अटोलाई ओभरट्याक गर्ने क्रममा उक्त दुर्घटना भएको जानकारी दिए । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।



सम्बन्धित
Loading...