सन्दिप बने धेरै देशमा गएर टी–२० खेल्ने क्रिकेटर

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा सर्वाधिक देशमा गएर टी–२० क्रिकेट खेल्ने क्रिकेटर बनेका छन् ।
सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा ‘द क्रिकेट मन्थ्ली’ नामक अन्तर्राष्ट्रिय म्यागेजिनले गरेको सर्वेक्षणमा सन्दीपले ८ देशमा गएर टी–२० खेलेर रेकर्ड बनाएका हुन् ।
उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्ड अफगानिस्तानका नजिवुल्लाह जाड्रनको पनि रहेको छ । सर्वेक्षणमा सन्दीप र जाड्रन संयुक्त शीर्ष स्थानमा रहेका छन् । सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पीएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन ओटा एक दिवसीय र ११ ओटा टी–२० पनि खेल्न भ्याएका छन् ।
सन्दीप लेग स्पिनर बलर हुन् । उनको माग विश्वका सबैजसो ठूलो फ्रेन्चाइज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् । सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका राशिद खान छन् । उनले एक वर्षमा एक हजार तीन सय ५५ पटक बल बलिङ गर्दा सन्दीपले नौ सय ८५ पटक बल बलिङ गर्दै दोस्रो स्थानमा परेका हुन् । (एजेन्सीको सहयोगमा)