छठ पर्वको आज दोस्रो दिन, खरना विधि गरिँदै





कार्तिक १५–

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।




खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ । गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।

खरनामा नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा, मूला, पान र सुपारी आदि राखिन्छन् । नैवेद्यलाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ । नैवेद्यलाई उत्सर्ग गरिसकेपछि व्रती र परिवारजनले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।




सम्बन्धित
Loading...