पोखरामा बंगलादेशका राष्ट्रपतिलाई प्रदेशका कार्यबाहक मुख्यमन्त्रीले स्वागत गर्ने


पोखरा : नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई पोखरामा प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवं अर्थमन्त्री किरण गुरुङले स्वागत गर्ने भएका छन्।




प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले हदिमको पोखरा भ्रमण कसरी सफल बनाउन सकिन्छ भन्नेबारे निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। ‘बंगलादेशका राष्ट्रपतिज्यु नेपाल भ्रमणमा हुनुहुन्छ। उहाँको भोलि पोखरा आउने कार्यक्रम छ। कूटनीतिक मर्यादासहित प्रदेश सरकार कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ ज्यूले उहाँलाई पोखरा विमानस्थलमा स्वागत गर्नुहुनेछ,’ प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका बस्नेतले भने, ‘राष्ट्रपति ज्यूलाई पोखराको रूपा रिसोर्टमा आन्तरिक मामिला तथा कानुनमन्त्रीज्युले स्वागत र विदाइ गर्नुहुनेछ।

’ पोखरा महानगर र रूपा रिसोर्टको समन्वयमा नेपाली भेषभूषा, संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नको लागि पनि प्रदेश सरकारले निर्देशन दिएको छ। राष्ट्रपतिको पोखरा भ्रमणको बेला हुने सबै खर्च प्रदेश सरकारले बेहोर्नेछ। राष्ट्रपति हदिम बिहीबार ११ बजे पोखरा विमानस्थलमा ओर्लेर फेवाताल पुगी रूपा रिसोर्टमा जाने कार्यक्रम तय भएको छ।




उनको स्वागतमा पोखरामा स्वागतद्वार निर्माण गरिएको छ। पोखरा विमानस्थल अगाडि स्वागतद्वार निर्माण गरिएको हो। ठाउँ-ठाउँमा नेपाल र बंगलादेशको झण्डा पनि राखिएको छ।




सम्बन्धित
Loading...