भारतीय अतिक्रमण : अन्तर्राष्ट्रियकरण र सशक्त आन्दोलनलाई एकसाथ अघि बढाउनु पर्छ : सीपी गजुरेल
(क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य एवम् देशभक्त तथा जनणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जारी राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको आन्दोलनलाई शिथिल बनाउन र मुद्दालाई निस्तेज पार्न गम्भीर षड्यन्त्र भइराखेको भन्दै सच्चा देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्ति सचेत र सतर्क भएर आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ । अध्यक्ष गजुरेलले एक दुईवटा वक्तव्य र दुई चारवटा जुलुसले भारतीय विस्तारवाद कालापानी क्षेत्र छाडेर नजाने भन्दै उसले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने र जनताको सशक्त आन्दोलनलाई एकसाथ अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।
पार्टीको ३ नं. प्रदेशको सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष गजुरेलले कालापानीको मुद्दा करिब ६० वर्ष अगाडिदेखिको मुद्दा भएको र आफ्नो पार्टी तथा देजमोले करिब १ वर्ष अगाडि देखि नै सरकारलाई लिम्पियाधुरा, कालापानी, लिपुलेक भएको नेपालको वास्तविक नक्सा प्रयोग गर्न र प्रयोग भइरहेको नक्कली नक्सा सबै सरकारी कार्यालयबाट हटाउन देशैभरी दबाबमूलक आन्दोलन गरेको प्रशंग कोट्याउनु भयो ।
अहिले भारतले त्यो भूभाग आफ्नो नक्सामा पारेपछि मात्र थाहा पाएजस्तो गर्ने संसदवादी दलहरुलाई लक्षित गर्दै अध्यक्ष गजुरेलले भन्नुभयो, “यिनीहरु यो मुद्दालाई त्यत्तिकै ढिसमिस बनाउन खोजिरहेका छन् । जनता सचेत हुनु पर्छ । उनीहरुको भ्रममा पर्नु हुन्न । आन्दोलनलाई सशक्त बनाएर लैजानु पर्छ ।”
क्रान्ति तथा आन्दोलनको वस्तुगत आवश्यकता अनुसार पार्टी संगठनलाई सदृढ बनाउने अभियानमा जुटेको भन्दै अध्यक्ष गजुरेलले अब पार्टी र मोर्चाले आन्दोलनाई देशव्यापी रुपमा उठाउन नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयो ।
सम्मेलनमा अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए । अध्यक्ष गजुरेलको सम्बोधनसँगै उद्घाटन सत्रको समापन भई सम्मेलन बन्द सत्रमा प्रवेश गरेको छ । बन्द सत्रबाट नयाँ नेतृत्वको चयन गर्दै सम्मेलन शनिबार सम्पन्न हुने बताइएको छ ।