सहमतिमा निर्णय गर्ने सर्तमा प्रचण्डलाई पार्टी कमाण्ड दिन ओली तयार

205







नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई पार्टी कमाण्डको जिम्मेवारी दिन तयार भएका छन् ।


लामो समयदेखि शक्ति र पदीय भागवण्डा मिलानको बहस गरिरहेका अध्यक्षद्वयबीचको निरन्तरको संवादपछि ओली प्रचण्डलाई पार्टी नेतृत्व दिन तयार भएका हुन् ।

ओलीले अध्यक्षका हैसियतमा निर्णय गर्नुअघि आफ्नो सहमति लिनुपर्ने सर्त भने अघि सारेका छन् ।

तर प्रचण्डले भने पूर्ण कार्यकारी अधिकार दिनुपर्ने सर्त अघि सार्दै आएका छन् । अध्यक्षद्वय निकट नेताहरूका अनुसार ओलीले निर्णयमा आफ्नो सहमति खोजेका कारण अध्यक्षद्वयबीचको नयाँ सहमति सार्वजनिक हुन भने अझै एक/दुई दिन लाग्न सक्छ ।


कसरी तयार भए ओली ?

सरकारको नेतृत्व लिएपछि व्यक्तिगत कार्यशैली र सल्लाहकार समूहको चंगुलमा फसेको आरोप ओलीमाथि लाग्दै आएको थियो । नेता माधव नेपालसँगको निरन्तरको फरक मत र प्रचण्डसँग सरकार निर्माणका बेला गरेको चारबुँदे सहमतिको चेपुवामा ओली थिए ।

ओलीनिकट नेताका अनुसार प्रधानमन्त्रीको सचिवालयका केही कर्मचारीको हेरफेर, प्रचण्डसँगको बाक्लो छलफल र माधव नेपालसँगको दुई पटक भएकाे लामाे छलफलपछि ओली प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन लचिलो बनेका हुन् ।

ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षका रूपमा स्वीकार गर्नुमा उनको बिग्रँदो स्वास्थ्य अवस्थासमेत जिम्मेवार रहेको नेताहरू बताउँछन् ।

चिकित्सकहरूले ओलीको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने निष्कर्ष निकालेपछि अध्यक्षद्वयबीच मात्र होइन, वरिष्ठ नेता माधव नेपालसँगको संवाद र सहकार्य बाक्लिएको हो । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने अवस्थामा ओली र प्रचण्डवीच कार्यकारी नेतृत्वको मोडालिटीबारे अझै छलफल हुन सक्ने प्रचण्डनिकट एक नेता बताउँछन् ।

‘प्रचण्डजी अध्यक्ष बन्ने र ओलीजीले सरकार नै चलाइरहने सहमति भइसकेको हो, अब प्रचण्डले कार्यकारी अधिकार पाउने नपाउने विषयमा मात्र सहमति हुन बाँकी छ,’ प्रचण्डनिकट एक नेताले  भने, ‘ओलीजीको उपचार विदेशमा नै हुने भयो भनेचाहिँ तत्काल प्रचण्ड एक्लैले अध्यक्षको भूमिका निर्वाह गर्नुहुनेछ ।’

चारबुँदेबाट प्रचण्ड ब्याक

नेकपाका नेताहरूका अनुसार केपी ओली प्रधानमन्त्री बन्ने बेलामा अध्यक्षद्वयबीच भएको चारबुँदे सहमतिबाट प्रचण्ड पछि हटेका छन् ।

प्रधानमन्त्रीको पाँचवर्षे कार्यकाल आधा आधा बाँडेर चलाउनेसहितको चारबुँदे सहमतिबाट प्रचण्ड पछि हटेपछि उनले कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व लिने विषयमा दुई अध्यक्ष केन्द्रित भएका हुन् ।

नेकपा नेताहरू माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल), सुवास नेम्वाङसहितका नेताहरूसँगको छलफलपछि अध्यक्षद्वयबीच नयाँ सहमतिको बाटो खुलेको हो ।

अन्तिम रूप पाउन बाँकी रहेको छलफलअनुसार अब ओलीले पूरै कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । अर्का अध्यक्ष प्रचण्डले भने पार्टीको कार्यकारी अधिकार सहितको हाई कमाण्ड सम्हाल्नेछन् ।

के थियो ५ भदौको सहमति ?

पार्टी र सरकार सञ्चालनको विषयमा अध्यक्षद्वयबीच विवाद भएपछि गत ५ भदौमा नेकपा सचिवालय बैठक बस्यो । ५ भदौमा बसेको सचिवालय बैठकले प्रचण्डलाई सचिवालय र स्थायी समिति बैठकको अध्यक्षता गर्न दिने सहमति गरेको थियो ।

यो बैठकपछि प्रचण्डले केही बैठकको अध्यक्षता गरे । पार्टीका तर्फबाट निकालिने विज्ञप्तिमा पनि दुवै अध्यक्षले हस्ताक्षर गर्न थाले । पछिल्लो छलफलमा प्रचण्डले ५ भदौको सोही सहमतिलाई टेकेर ओलीसँग लिखित अधिकार माग गरिरहेको ओलीनिकट एक नेता बताउँछन् । यो विषयमा ओलीले बचन भने दिइनसकेको उनको भनाइ छ ।

फेरिएलान् त मन्त्री ?

प्रचण्ड, माधव नेपाल र ओलीवीचको बेग्लाबेग्लै छलफलपछि मन्त्रिपरिषदका सदस्य हेरफेर गर्ने सहमति जुटेको हो । तर, सो सहमति कहिलेबाट कार्यान्वयन गर्ने भन्ने विषयमा भने नेताहरूले कुनै निर्णय लिन सकेका छैनन ।
नेकपा नेता सुवास नेम्वाङका अनुसार ओली उपचारका लागि तत्काल विदेश जानुपर्ने भएमा, अध्यक्षद्वयबीचका ‘केही विषय मिलेमा’, प्रचण्डले पार्टीको एकल नेतृत्व पाउने अवस्थामा तत्काल सचिवालय बैठकले मन्त्री हेरफेरको विषयलाई अनुमोदन गर्नेछ ।

यो अनुमोदनपछि मंसिरको पहिलो साताभित्रै मन्त्रीहरू फेरिने उनको भनाइ छ ।

सहमतिको संस्कारलाई निरन्तरता

पार्टी एकता गर्दा नै तत्कालीन दुई पार्टीका नेताहरूले सहमतिका आधारमा पार्टी र सरकार सञ्चालन गर्ने निर्णय गरेका थिए । तर, सरकार र पार्टी सञ्चालनका विषयमा वरिष्ठ नेता माधव नेपालसँग ओलीको सम्बन्ध चिसिएपछि सहमतिमा निर्णय हुन सकिरहेको थिएन ।

जसका कारण नेपालले पार्टी एकीकरणको प्रक्रिया र प्रदेश प्रमुख नियुक्तिमा असहमति जनाउँदै सचिवालय बैठकमा फरक मत नै राखे । नेपालको फरक मतपछि सहमतीय संस्कार निरन्तरता दिन अर्का अध्यक्ष प्रचण्डले भूमिका खेले ।

उनको भूमिकाका कारण ओली र नेपालबीच संवाद मात्र सुरू भएन, दुई नेताबीच सहमतिमा मात्र सरकार र पार्टीलाई अघि बढाउने अलिखित सहमति भयो ।

नेपालनिकट एक नेता भन्छन्, ‘अध्यक्षसँगको पछिल्लो भेटपछि अब पार्टी र सरकार दुवै सहमतिका आधारमा चल्छन् भन्ने विश्वास जागेको छ ।’

शिलापत्रबाट


You might also like
Loading...