समाजवादीले सरकार नछाड्ने, राजपासँग तत्काल एकता नहुने

154







सत्तारुढ समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकार तत्काल नछाड्ने निष्कर्ष निकालेको छ ।


२८–३० कात्तिकमा तीन दिनसम्म राजधानीमा चलेको पार्टी संघीय परिषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गर्दै मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीसँगको पार्टी एकता वार्तालाई निरन्तरता दिने निर्णय गरेको हो ।

राजपासँगको वार्तालाई निरन्तरता दिने परिषद्को निर्णय भने परिणाममुखी नहुने भएको छ । समाजवादीले तत्काल सरकार छाडे मात्र पार्टी एकता सम्भव हुने भन्दै अडान राख्दै आएको राजापाका लागि सरकारमा बसिरहने समाजवादीको निर्णयले एकता तत्काल सम्भव नदेखिएको हो ।

गत २३ जेठमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालबीच एकीकरणपछि बनेको समाजवादीले संविधान संशोधनलगायतका माग सरकारले सम्बाेधन नगरे सरकार छाड्ने निर्णय गरेको थियो । तर, समय सीमा भने तोकिएको थिएन ।

सरकारले संविधान संशोधन गर्न ढिलाइ गरेको, सरकार सञ्चालनमा साझेदार दलसँग सहकार्य नगरेको, राजनीतिक नियुक्तिमा साझेदार दललाई उपेक्षा गरेको र मन्त्रिपरिषद् बैठकमा एकलौटी निर्णय गरेको भन्दै समाजवादीले सरकारप्रति असन्तुष्टि जनाउँदै आएको थियो ।

समाजवादीका नेताहरूले तत्काल सरकार छाड्न नेतृत्वलाई दबाब दिन थालेपछि शीर्ष नेताहरू पनि सरकारप्रति असन्तुष्ट थिए । सरकार छाड्न दबाब आए पनि उपप्रधानमन्त्री तथा पार्टीका अध्यक्ष उपेन्द्र यादव तत्काल सरकार छाड्न तयार थिएनन् ।

पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईको प्रस्तावमा तत्काल सरकार नछाड्ने भनी परिषद् बैठकमा पेश गरिएको राजनीतिक दस्तावेजलाई स्वीकार गरेपछि समाजवादी तत्काल सरकारबाट नहट्ने भएको हो । तत्काल सरकार नछाड्ने निर्णय गरेको समाजवादीले सरकारलाई चेतावनी दिएर सरकार छाड्ने संकेत दिएको छ ।

 


You might also like
Loading...