गाउँ (कविता)

469












– प्रेमध्वज गाहा –


एकाबिहानै बिउंझिन्छ गाउँ ।
ला,,मो हा,,ई काढेर आङ तन्काउंछ अनि ,
नियमित मेलो पस्छ ।
खेत तिर ।
बन तिर ।
गोठ तिर ।

सुक्ख दुक्ख गरेर हुर्काएका बचेरा ,
मुग्लान भासिए पछि ,
दुक्ख सुक्ख आफैं गर्छ गाउं ।
कहिले खहरे झैं रसाउंछ ,
कहिले बिचबाट फाटेको टोपिजस्तै फाट्छ
भित्र भित्रै ।
यद्यपि उ हार्न चाहंदैन ,
हठात आशाका त्यान्द्राहरुले सिलाई हाल्छ फाटेको आफुलाई ।

खोरियाका चट्टान र माटोहरुमा ,
जोतेर नङ्ग्राहरु।
छरेर सपनाका बिउ ।
फलाउंछ गाउं ,,,
केहि ढाकर उमंगका फापरहरु,
केहि डालो खुसिका मकै अनि कोदोहरु ।
दिनभरी कहरको स्याखु ओढेर कज्जिन्छ गाउं,
अनि सांझपख टांकीको भारी बोकेर उकालो चढ्छ ।

तन्नेरिहरुलाई खाडिले ,
गरेपछि अपहरण ।
कौडा झ्याम्रे पनि ,
बेलुकी बेलुकी रोधिघरबाट ,
सुटुक्क हराएका छन ।
त्यसैले त बैंसमा गरेका रोमान्स सम्झेर
रोमान्चित हुन्छ गाउं ।
अनि एक चिलिम तमाखुसंगै हरेक रात,
बिश्राम लिन्छ ओछ्यानमा ।

यसरी नै अनेक दुखका कहरहरुबाट ,
जीन्दगी नामको नाङ्लोमा,
सुखहरु निफनेर बांचिरहेछ गाउँ ।

हो , गाउंमा बसेर यसरी नै ,
समृद्ध देश बनाउन ।
बिना कुनै गुनासो ,
योगदान पुर्‍याइरहेको छ ,
एउटा बुढा मान्छे ।

बुढा मान्छे ,
अर्थात मेरो बाजे।
बाजे! अचेल ,
तिमि नै गाउं,
र गाउं नै तिमि भएको छ ।।



You might also like
Loading...