सरकारी कर्मचारीको लापरवाही : ४५ दिनदेखि विनासूचना कार्यालयमा अनुपस्थित
नेपाल विद्युत प्राधिकरणमा काम गर्ने एक इन्जिनियर ४५ दिनदेखि कार्यालय आएका छैनन् ।
प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतको लहान वितरण केन्द्रका सहायक इन्जिनियर फिरोज अन्सारी ८ कात्तिकदेखि कार्यालयमा नआएका हुन् ।
कुनै जानकारीविनै उनी डेढ महिनासम्म कार्यालयमा नआएपछि प्राधिकरणले सूचना जारी गरेर उपस्थितिका लागि निर्देशन दिएको छ ।
‘यस नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रमा कार्यरत कर्मचारी संकेत नं. ८१९६, तह ६ का सहायक इन्जिनियर श्री फिरोज अन्सारी मिति २०७६/०६/०८ गतेदेखि लगातार ४५ दिनभन्दा बढी विनासूचना कार्यालयमा अनुपस्थित भई आफ्नो कर्तव्यप्रति लापरवाही गरेको देखिन आएकोले नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा विनियमावली २०७५ को विनियम ८३ (३)अनुसार यो सूचना प्रकाशित भएको मितिले २७ (सत्ताइस) दिनभित्र सन्तोषजनक जवाफ (स्पष्टिकरण)सहित कार्यालयमा उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ,’ मंगलबार कार्यालयले गोरखापत्रमा निकालेको सूचनामा भनिएको छ ।
उपस्थित नभए नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ अनुसार कारबाही गर्ने चेतावनी पनि कार्यालयले दिएको छ ।