डर्टमुन्डलाई हराउँदै बार्सिलोना नकआउट चरणमा प्रवेश
स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह एफ अन्तर्गत गएराति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–१ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
बार्सिलोनाको जितमा ७०० औं खेल खेलेका लियोनल मेस्सीले महत्वपूर्ण योगदान गरे । उनले एक गोल गरेभने बाँकी दुई गोलका लागि पनि उनैले अवसर सिर्जना गरे । लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानले उनकै पासमा गोल गरेका हुन् ।
जितसँगै बार्सिलोनाको ११ अंक भएको छ भने इटालियन क्लब इन्टर मिलान र बोरुसिया डर्टमुन्डको समान ७–७ अंक रहेको छ । क्याम्प नोउमा भएको खेलमा लुइस स्वारेजले मेस्सीको पासमा गोल गर्दै २९ औं मिनेटमा बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसको चार मिनेटपछि स्वारेजको पासमा मेस्सीले गोल गरे । पहिलो हाफमा दुई गोलको अग्रता लिएको बार्सिलोेनाले दोस्रो हाफमा एक गोल थप्यो । मेस्सीको पासमा ग्रिजम्यानले गोल गरे ।
समूह एफकै अर्को खेलमा इटालियन क्लब इन्टर मिलान विजयी भएको छ । इन्टरमिलानले चेक गणतन्त्रको स्लाभिया प्रागलाई ३–१ ले हरायो ।
प्रागमा भएको खेलमा इन्टरमिलानलाई जित दिलाउन लउटारो मार्टिनेजले दुई तथा रोमेलु लुकाकुले एक गोल गरे ।अब इन्टर मिनानले बार्सिलोनासँग प्रतिष्पर्धा गर्न बाँकी छ भने डर्टमुन्डले स्लाभिया प्रागसँग खेल्नेछ । सोही खेलबाट प्रिक्वाटरफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।