मध्य–मेवा खोला जलविद्युतमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब लगानी गर्ने
मेचीको पहाडी जिल्ला ताप्लेजुङमा निर्माण हुन लागेको ४९ मेगावाटको मध्य–मेवा खोला जलविद्युत आयोजनामा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।
हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फ्रास्ट्रक्चर, कुमारी, क्रेडिट एन्ड कमर्श, एसबीआई र सानिमा बैंकले आयोजना लागतको ७५ प्रतिशतबराबर पुग्ने ६ अर्ब ९५ करोड ऋण लगानी गर्ने भएका हुन् ।
आयोजनाको प्रवर्द्धक मेवा डेभलपर्सले २५ प्रतिशत स्वपूँजी लगानी गर्नेछ । ९ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७ अर्ब ऋणबाट र बाँकी स्वपुँजीबाट लगानी जुटाउने तयारी छ ।
४९ मेगावाटको पीआरओआर (अर्धजलाशययुक्त आयोजना) को प्रतिमेगावट लागत भने आरओआर (नदि प्रवाहमा आधारित आयोजना) सरह करिब २० करोड रूपैयाँ मात्रै छ ।
पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट वार्षिक २९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ । आयोजनाले दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने आयोजनाको दाबी छ ।
ताप्लेजुङको लिवाङ, सन्वा, नाल्बु, पापुङ र थुकिमा क्षेत्र आयोजनाबाट प्रभावित हुनेछन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरिसकेको आयोजनाले गत महिना मात्र निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा निवेदन दिएको छ ।