साग फुटबलः नयाँ खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल भुटानसँग


१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक भएको छ । नयाँ खेलतालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा भुटानको चुनौती सामना गर्नेछ ।



अन्तिम समयमा आएर भारतले फुटबलमा सहभागिता नजनाउने भएपछि एन्फाले नयाँ खेलतालिका सार्वजनिक गरेको हो । पाकिस्तान र भारत दुवै सहभागी नहुने भएपछि पुरुष फुटबलमा ५ देशले प्रतिस्पर्धा गर्नेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले ३ डिसेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ । यसैगरी नेपालले ४ डिसेम्बरमा श्रीलंका, ६ डिसेम्बरमा माल्दिभ्स र ८ डिसेम्बरमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।




पाँच राष्ट्रमात्र सहभागी हुने भएपछि पुरुष फुटबल राउण्ड रोबिन लिगका आधारमा खेलाइनेछ । लिग चरणका शीर्ष दुई टिमले १० डिसेम्बरमा हुने फाइनलमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यसअघि ६ टिमलाई दुई समूहमा विभाजन गरि खेलाइने तयारी भएको थियो । जसमा नेपाल बंगलादेश र भुटानसहित समूह ‘ए’मा रहेको थियो ।

नेपाल साग पुरुष फुटबलको डिफेन्डिङ च्याम्पियन पनि हो । भारतमा आयोजित १२ औं सागमा नेपाल स्वर्ण जित्न सफल भएको थियो ।

साग फुटबलमा यू–२३ टिम सहभागी गराउनु पर्नेछ । यद्यपी, सो टिममा ३ जना सिनियर खेलाडी पनि राख्न पाइने छ ।



सम्बन्धित
Loading...