रक्सी खान आएका भारतीयलाई १ वर्ष कैद
मादक पदार्थ सेवन गर्न हतियारसहित सप्तरीमा आएका भारतीय नागरिकलाई १ वर्ष कैद सजाय सुनाइएको छ ।
बिहीबार जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले भारत बिहारको सुपौल जिल्ला डगमाराग्राम पञ्चायत १२ कुनौली थाना सोनापुर बस्ने २२ वर्षीय रमेशकुमार मण्डललाई १ वर्ष कैद सजाय गरेको हो ।
कैद सजायका साथै अदालतले १० हजार रुपैयाँ जरिवाना गरेको छ । छिन्नमस्ता गाउँपालिकामा टाइगर वियर र गोल्डेन वक नामक रक्सी सेवन गरी हो–हल्ला गर्दै पैदल भारततर्फ गइरहेका मण्डलको शरीर जाँच गर्दा उनको कम्मरमा बाँधेको कटुवा पेस्तोल सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
उनीसँगै मादकपदार्थ खाने डगमारा ग्रामपञ्चायत १३ कुनौली थाना सोनापुर बस्ने ३० वर्षीय श्रवणकुमार साह भने फरार रहेका छन् । छिन्नमस्ता–३ गोविन्दपुरस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टनजिकैबाट सशस्त्र प्रहरीले गत चैत २२ गते मण्डललाई पक्राउ गरेको थियो ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलाशले मण्डल वैशाख १६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।