बुंदीकाली ५ मा शान्तिपूर्ण रुपमा मतदान चल्दै, विहान १० बजेसम्म दुई सय पचास बढीले मतदान गरे
- रामकुमार श्रेष्ठ

नवलपरासी, १४ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि शुरु भएको मतदाना शान्तिपूर्ण रुपमा चलेको छ।
विहान सात बजेदेखि नै मतदान शुरु भएको हो । स्थानीय ५४ बर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान शुरु गरेकी हुन् ।
विहान १० बजेसम्म डेढ सय बढीले मतदान गरेको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् । । यहाँ ८ सय ५३ जना मतदाता रहेका यस क्षेत्रमा ६ सय सम्म मत खस्ने अनुमान गरिएको छ। विहान सात बजेदेखि नै मतदान शुरु भएको र पाँच बजे मतदान सकिने जनाइएको छ ।
विहान १० बजेसम्म १ सय ७४ जना महिला र ८४ जना पुरुषले मतदान गरिसकेका छन् ।
यहाँ एउटा मतदान स्थल रहेको छ । मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने बताइएको छ ।
वडाध्यक्ष पदका लागि नेकपाबाट खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट तलबहादुर राना अनिल र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उमदेवारी दिएका हुन् ।
बुंदीकाली ५ मा वडाध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि उपनिर्वाचन भएको हो ।
मतदान स्थल र मतदान हुने वडामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले बताए ।