कपिलवस्तुको शिवराज नगरपालिकाको वडाध्यक्षका लागि मतदान जारी
शिवराज नगरपालिका–१० मा बिहान ७ बजेदेखि मतदान भइरहेको छ। वडामा रहेका २ हजार ७२ मतदातामध्ये बिहान १० बजेसम्म ४०० मत खसिसकेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए।
वडाका लालपुर र शितलापुर आधारभूत विद्यालयलाई मतदान स्थल तोकिएको छ। तीनवटा मतदान केन्द्र निर्धारण गरिएको छ। सवै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। शितलापुरमा ९०४ र लालपुरमा १ हजार १६८ मतदाता छन्। मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानपछि दलहरुवीच दलीय सहमति भए शनिबार बेलुकाबाटै मतगणना सुरु हुने निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। मतगणना मुख्य निर्वाचन कार्यालय चन्द्रौटा परिसरमा गर्ने तयारी गरिएको उनले बताए।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वडाध्यक्ष बनेकी शकुन्तला भारतीको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भइरहेको छ। वडाध्यक्ष पदका लागि सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी छ। उम्मेदवारी दिनेमा ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अदालत मनिहार, नेपाली कांग्रेसबाट देवराज भारती, समाजवादी पार्टी नेपालबाट तीर्थबहादुर रायमाझी, राजपाबाट मञ्जु मिश्र, जनमत पार्टीबाट मोहम्मद हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहार उम्मेदवार छन्।
यस्तै स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी, रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहार चुनावी मैदानमा छन्।