अमेरिकाको डकोटामा विमान दुर्घटना, नाै जनाको मृत्यु
संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको विमान दुर्घटनामा नाै जनाको मृत्यु भएको छ । स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँ आँधीमा परेर दुर्घटनाग्रस्त भएको सो विमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा दुई बालबालिकासमेत रहेका छन् । एकल इन्जिनको पिलाटस पीसी–१२ नामको विमान च्याम्बरलेन विमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।
मृत्यु हुनेहरूमा विमानका पाइलट पनि रहेका छन् । विमानमा कुल १२ जना सवार थिए । विमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय विमानस्थलतर्फ उडिरहेको थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार घाइतेहरूलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
अमेरिकी नागरिक उड्डयन कार्यालयले सो विमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलेन क्षेत्रमा बाक्लो हिउँसहितको आँधी आएका कारण विमानका उडानहरू प्रभावित भएका छन् ।