बंगलादेशद्वारा भुटान १० विकेटले पराजित
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले भुटानलाई १० विकेटले हराएको छ । भुटानले दिएको ७० रनको लक्ष्य बंगलादेशले कुनै विकेट नगुमाई ६.५ ओभरमा भेट्टायो ।
टस जितेर भुटानले पहिले ब्याटिङ रोजेको थियो । टेस्ट राष्ट्र बंगलादेशको बलिङमा भुटानी ब्याट्सम्यानहरुले संघर्षपूर्वक २० ओभर ब्याटिङ गरे । भुटानका ओपनरहरुले पहिलो विकेटका लागि २९ रनको पार्टनरसीप गरेका थिए । ओपनर तेन्जेन वाङ्चुक जुनियरले २९ बलमा १५ रन जोडे ।
बंगलादेशका मनिक खानले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने अन्य चार जना बलरले १–१ विकेट लिएका थिए ।
बंगलादेशको सहज जितमा अनुभवी ब्याट्सम्यान सौम्य सरकारले २८ बलमा ३ छक्का र ४ चौकासहित अर्धशतक प्रहार गरे । अर्का ओपनर मोहम्मद नाइमले पनि १३ बलमा एक छक्कासहित अविजित १६ रन बनाए ।