नवलपुरमा पाँच कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा




नवलपुर। पूर्वी नवलपरासीका सामुदायिक तथा सरकारी विद्यालयहरुमा कक्षा पाँचसम्मका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम लागु गरिएको छ।
सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढाउनका लागि विद्यार्थीको संख्यामा समेत वृद्धि गराउने उद्देश्यले दिवा खाजा सञ्चालन गरिएको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्ण चन्द्र पोख्रेलले बताए।
नेपाल सरकारको शिक्षा मन्त्रालयले पूर्वी नवलपरासी सहित देशभरका २१ जिल्ला दिवा खाजा कार्यक्रम सञ्चालनका लागि बजेट पठाएको हो ।
नवलपुरमा रहेका करिब ३ सय १२ वटा सामुदायिक विद्यालयका ४४ हजार पाँच सय विद्यार्थीहरुका लागि दैनिक दिवा खाजा सञ्चालन गरिएको जिल्ला शिक्षा समन्वय इकाई कार्यालयका प्रमुख कृष्णचन्द्र पोख्रेलले जानकारी दिए ।
पोख्रेलका अनुसार प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले विद्यार्थीहरुलाई विद्यालयमै पौष्टिक आहारयुक्त खाजा खुवाउने गरी कार्यक्रम सञ्चालन गरिएका हो। जसअन्तरगत नवलपुर जिल्लामा मात्रै १२ करोड दुई लाख ५३ हजार रुपैयाँ दिवा खाजाका लागि बजेट विनियोजन भएको छ ।
एक बर्षको १ सय ८० दिनका लागि उक्त रकम बराबरको दिवा खाजा सञ्चालन गरिएको हो ।


ताजा र पोसिलो खाजा सबैले विद्यार्थीलाई उपलब्ध गराउनका लागि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको हो ।
दिवा खाजाका लागि नवलपुरको कावासोती नगरपालिकामा सबैभन्दा बढी २ करोड १७ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी गैडाकोट नगरपालिकामा २ करोड १४ लाख तीस हजार, देवचुली नगरपालिकामा १ करोड ९५ लाख ४३ हजार, मध्यविन्दु नगरपालिकामा १ करोड ७१ लाख २६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी बुलिङटार गाउँपालिकामा ९० लाख २३ हजार, बुंदीकाली गाउँपालिकामा ७६ लाख ७६ हजार, हुप्सेकोट गाउँपालिकामा १ करोड १४ लाख ५९ हजार र विनयी त्रिवेणी गाउँपालिकामा १ करोड २२ लाख ५८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
हरेक दिन फरक फरक पौष्टिक आहार शिक्षक र अभिभावकको निगरानीमा खुवाइने गरिएको छ ।
यस अघि दिवा खाजा कार्यक्रम लागु भएका सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या बढेका कारण यस कार्यक्रम पछि सामुदायिक विद्यालयमा विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ।
दिवा खाजाले विद्यार्थीहरुलाई ताजा र पोसिलो खाजा खुवाउन, सबै विद्यार्थीहरुलाई एउटै खाजा खुवाउँदा बालमनोविज्ञानमा सकारात्मक प्रभाव पर्ने, आर्थिक रुपमा विपन्न परिवारका खाजाकै कारण विद्यालय नआउने क्रम घट्ने, कक्षा छाड्ने दर कम हुँदै कक्षामा नियमित हुने क्रम बढ्ने, समग्रमा शैक्षिक गुणस्तरमा समेत सकारात्मक प्रभाव पार्ने भएकोले दिवा खाजा सञ्चालन गरिएको पोख्रेलले बताए।
यस पटक नवलपुरका आधारभूत विद्यालयमा मात्र नभई मावि तह सञ्चालन भएका विद्यालयमा पनि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजा सञ्चालन गरिएको हो।
हरेक विद्यालयमा दिवा खाजा सञ्चालनका लागि अभिभावककै नेतृत्वमा अनुमगन समिति समेत गठन गरिएको छ।
विद्यालयले हप्ताको ६ दिन फरक फरक प्रकारका पौष्टक आहार खुवाउने गरिएको छ।



सम्बन्धित
Loading...