चिनियाँ अपराधीको निशानामा नेपाल, ३ महिनामै गम्भीर अपराधमा संलग्न १० जना पक्राउ
अपराध १प्रहरीले आइतबार लागूऔषध बनाउने सहायक रसायन इफ्रेडिन ४ किलो २ सय ग्रामसहित एक जना चिनियाँ नागरिकलाई पक्राउपछि सार्वजनिक गर्याे । पक्राउ पर्नेमा राहदानी नम्बर ई ७३९०५८३७ भएका झिङ चव रहेका छन् ।
उनलाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूराेको टोलीले शनिबार साँझ ठमेलबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई लागूऔषध बनाउने रसायन नेपालहुँदै न्युजिल्याण्ड पठाउन खोज्दा पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूराेका प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र बस्यालका अनुसार उनले चीनहुँदै ल्याएको रसायन कार्गोमार्फत न्युजिल्याण्ड पठाउन खोज्दा पक्राउ परेका हुन् । नेपालमा २ लाख २५ हजार मूल्य रहेको उक्त रसायनको न्युजिल्याण्ड पुग्दा ५० लाख बढीमा किनबेच हुने बस्यालको भनाइ छ ।
प्रहरीका अनुसार उनले रंगिन चित्र भएको काठको फ्रेमभित्र फल्स बटन बनाएर रसायन न्युजिल्याण्ड पठाउन खोजेका थिए । पक्राउ परेको झिङ चवमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
अपराध २
१५ भदौमा विभिन्न बैंकका एटीएम सिस्टम ह्याक गरेर पैसा चोरी गर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परे । उनीहरूले बैंकको एटीएम बुथनै ह्याक गरेर रकम चोरी गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई एटीएमबाट पैसा चोरी गर्दागर्दै पक्राउ गरेको थियो ।
पक्राउ पर्ने चिनियाँ नागरिकहरू माझु लियाङ, लुओ जियालेन, क्यु युनकिङ, लिनजियानमेन र जिनक्वुन रहेका थिए । एक जना अझै फरार रहेका छन् ।
पक्राउ परेकाहरूबाट प्रहरीले १ करोड ६७ लाख रुपैयाँ र १ सय ३२ थान भिसाका नक्कली कार्ड, १७ थान अन्य कार्ड र एक थान प्रिन्टरसमेत बरामद गरेको थियो । उनीहरूमाथि प्रहरीले बैंकिङ कसुरको मुद्दा चलाएको थियो । हाल उनीहरूलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको छ । उनीहरूलाई सुन्धारा कारागारमा राखिएको छ ।
अपराध ३
एटीएम बुथबाट रकम चोरी गरेको एक सातापछि प्रहरीले २३ भदौमा मानव तस्करीको अभियोगमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गर्याे । पक्राउ पर्नेमा जेन छियाँ दोङ, झयाङ दोङ हुई, क्वीनलिवाङ र क्वीन आनझान पेङ रहेका थिए ।
उनीहरूले नक्कली विवाहको नाममा चार जना युवतीलाई चीन लान खोज्दा त्रिवुभवन विमानस्थलबाट पक्राउ परेका थिए । एक जना युवतीसँग अदालतबाट समेत विवाहको प्रमाणपत्र लिएका थिए ।
बाँकी तीन जनालाई भने भिजिट भिसामा लाने र उतै विवाह गराउने आश्वासन दिएका थिए । उनीहरूलाई प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूराेले पक्राउ गरेको थियो । चिनियाँ नागरिकलाई नेपाली युवती सम्पर्कमा ल्याइदिने ६ जना नेपालीसमेत पक्राउ परेका थिए ।
हाल पक्राउ परेका सबै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । माथिका तीन अपराध भदौयताका तीन महिनामा मात्र भएका अपराध घटना हुन् । पछिल्लो समय भएका यी अपराधले चिनियाँ अपराधीको निशानामा नेपाल रहेको प्रषट हुन्छ ।
प्रहरीका अनुसार लागूऔषध कारोबार, मानव बेचविखन र बैंकिङ कसुरजस्तो गम्भीर अपराधमा चिनियाँ नागरिकको संलग्नता देखिने सुरक्षा चुनौती थपिएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार नेपाल आउन सजिलै भिसा लाग्ने भएकाले व्यापारको नाममा नेपाल आउने र नेपाल बस्दा विभिन्न अपराधमा संलग्न हुने गरेका छन् ।
त्यस्तै, आपराधिक मानसिकता भएका चिनियाँ नागरिकलाई चीनमा अपराध गर्दा भन्दा नेपालमा अपराध गर्दा कानुनी व्यवस्था सजिलो भएका कारण पनि उनीहरूले गम्भीर अपराधको योजना नेपालमा बनाउने देखिएको एसएसपी थापाकाे बुझाइ छ ।
चीनमा गम्भीर अपराधमा संलग्न अपराधीलाई मृत्यु दण्ड दिइने व्यवस्था छ ।
२६ जना चिनियाँ कारागारमा
हाल विभिन्न अपराधमा संलग्न २७ जना चिनियाँ नागरिक कारागार चलान भएका छन् । यसमध्ये अधिकांश लागूऔषध कारोबारमा संलग्न रहेको सुन्धारा कारागारका सहायक जेलर गोकर्ण खनालले जानकारी ।
उनका अनुसार सुन्धारा कारागारमा २१ जना चिनियाँ नागरिक रहेका छन् । यसमध्ये चार जना महिलासमेत रहेका छन् । त्यस्तै, डिल्लीबजार कारागारमा दुई जना र ललितपुरस्थित नख्खु कारागारमा तीन जना चिनियाँ कैदीबन्दी रहेका छन् ।