धनुषामा बम विस्फोट हुँदा दुईको मृत्यु,चार घाइते




जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षकसहित ४ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो । बम हो वा होइन भनी जाँच्नका लागि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट गएको प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो ।




विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ ।

घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ । घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरुको हत्या गर्नकै लागि राखेको बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान तीव्र पारेको छ । घटनास्थल इलाका प्रहरी कार्यालयबाट ४ सय मिटरको दूरीमा पर्छ ।



सम्बन्धित
Loading...