नवलपरासीमा वडाध्यक्ष घुस लिएको अभियोगमा पक्राउ
स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर÷गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगको अभियोग छ ।
वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा सङ्कलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
