चोरामारामा महायज्ञ शुरु पहिलो दिन नै २ करोड संकलन

नवलपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले देशमा असल सभ्यता र संस्कृति निर्माणका लागि शिक्षाको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
उनले शिक्षाको विकास विना कुनै पनि देशले प्रगति गर्न नसक्ने बताए । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसमा आइतबारबाट शुरु भएको श्रीमद् भागवत, पितृमोक्ष एवम् धनधान्यान्चल महायज्ञको उद्घाटन गर्दे पूर्व राष्ट्रपति डा. यादवले शिक्षानै सबै असल सभ्यता र सस्कृतिको जग भएको बताए ।
यादवले भने – ‘शिक्षित समाज भए मात्र असल सभ्यता र संस्कृतिको विकास हुन्छ, यसका लागि शिक्षाको विकासमा जोड दिनुपर्छ ।’ उनले संसारका जति पनि विकसित देशहरु छन् ति सबैले शिक्षको विकासमा जोड दिएकै कारण यो आर्थिक रुपमा फड्को मारेको बताए ।
चिन र भारत जस्ता दुई महान् सभ्यता बोकेका देशको बिचमा रहेको सुन्दर राष्ट्र नेपालको आफ्नै मौलिक, पहिचान र सस्कृति रहेको उल्लेख गर्दे पूर्व राष्ट्रपति यादवले नेपालको यो मौलिकपन जोगाईराख्न र अर्को पुस्तालाई सही सस्कृति हस्तान्तरण गर्न पनि शिक्षाको विकासमा जोड दिनु पर्नेमा पूर्व राष्ट्रपति यादवले जोड दिए ।

जनकपुरमा एक युवकको ट्रिपरले किचेर हत्या गरेको प्रसङ्ग उल्लेख गर्दे उनले अशिक्षाकै कारण अपराध बढेको बताए ।
‘एकजना पढे लेखेका युवाले खोला जोगाउनु पर्छ ,पानीको मुहान जोगाउन पर्छ भने तर उनको हत्या भयो । यो विडम्वना हो ।’ उनले भने । मुलुकको अखण्डता र एकता कायम राख्न सबै देशवासीललाई आग्रह गर्दे उनले सस्कृति र सभ्यताको संरक्षण गर्न सबै लाग्न आव्हान समेत गरे ।
माघ ५ गतेसम्म चल्ने महायज्ञमा मष्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर रानाले क्याम्पसलाई १ करोड २० लाख नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी संघिय सांसद तिलक महतले निर्वाचन क्षेत्र विकास मार्फत् २१ लख र क्याम्पस संचालक समितिका अध्यक्ष तुलसीराम तिवारीले १० लाख, मध्यविन्दु ७ का स्थानीय भक्तबहादुर थालो ४ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । महायज्ञको पहिलो दिन नै २ करोड संकलन भएको आयोजकले जनाएको छ ।
महायज्ञमा पंण्डित नेत्र प्रसाद पराजुली प्रमुख बाचकको रुपमा रहेका छन् । आयोजकले महायज्ञबाट १५ करोड चन्दा संकलन गर्ने अपेक्षा गरेको छ ।

क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
क्याम्पसका प्रधानसंरक्षक समेत रहनुभएका विष्णुकुमार कार्कीले एक्लैको रकम कहिल्यै धेरै नहुने भन्दै आत्मै देखि सबैले सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रममा धन धन्याचल ज्ञान महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष केदार प्रसाद पराजुलीको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा संघीय सांसद तिलक महत, प्रदेश सांसद कृष्णचन्द्र नेपाली, ओमकला गौतम, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना लगायतले बोलेका थिए ।
स्थानीय जनप्रतिनिधि, शिक्षक, प्रधापक, विद्यार्थी, अभिभावक, विभिन्न वन समूहका पदाधिकारी, सहकारी समूह, विद्यालय, टोल विकास संस्था, क्लब, आमा समूह, लगायतका स्थानीय उल्लेख्य सहभागितामा उद्घाटन पूर्व कलश यात्रा निकालिएको थियो ।
कलश यात्रा क्याम्पस प्राङ्गणदेखि नगरपालिकाको कार्यालय हुँदै चोरमारा र चौरङ्गी बजार परिक्रममा गरी क्याम्पसमा पुगेको थियो ।
कार्यक्रम मूल समारोह समितिका संयोजक चेतनाथ तिवारीको अध्यक्षता भएको थियो ।