नवलपरासीका धुमधामका साथ मनाइयो माघे संक्रान्ति

नवलपरासी । माघे संक्रान्तिको अवसरमा पश्चिम नवलपरासीको त्रिवेणी, धर्मबस्ती, मनरी लगायतका विभिन्न स्थानमा माघे संक्रान्ति धुमधामका साथ मनाइएको छ ।
थारु समुदायको बाहुल्यता रहेको नवलपरासीको सरावल गाउँपालिकाको मनरीमा माघे संक्रान्तिको आवसरमा माघी मेलाको रुपमा विभिन्न प्रकारका कार्यक्रम सहित माघी मेलाको आयोजना भएको छ ।
त्यसैगरी मगर समुदायको बाहुल्यता रहेको वर्दघाट नगरपालिकाको धर्मबस्तीमा मगर समुदायको आयोजनामा मांघे संक्रान्ति मेलाएवं मगर सांस्कृतिक मेला संचालनमा रहेको छ । यता त्रिवेणी धाममा माघे संक्रान्तिको अवसरमा त्रिवेणीमा स्नान गर्न आउनेहरुको ठूलो संख्यामा उपस्थिती रहेको छ ।
माघे संक्रान्तिको अवसरमा थारु समुदायको बाहुल्यता रहेको सरावल गाउँपालिका वार्ड नम्बर १४ मनरीमा मंगलवार देखि शुरु भई तीन दिनसम्म संचालन हुने गरि थारु माघी महोत्सव एवं सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको सरावल गाउँपालिकाका प्रमुख राजेन्द्र चौधरीले बताए ।
स्थानीय श्रीराम युवा प्रतिष्ठानको आयोजनामा भएको माघी महोत्सव एवं थारु सांस्कृतिक कार्यक्रमको उदघाटन प्रदेश नम्बर पांचका सामाजिक विकास मन्त्री बैजनाथ चौधरीले गरेको श्रीरामयुवा प्रतिष्ठानका अध्यक्ष संजय चौधरीले बताए ।
यस खिचडी एवं माघी महोत्वमा विभिन्न प्रकारका थारु खानाका परिकारहरु, डांडीया नाँच, ढोलक नाच, लगायतका विभिन्न प्रकारका पारम्परिक नाचहरु, भलिबल प्रतियोगिता, थारु समुदायका पारम्परिक एवं लोपोन्मुख बस्तुहरुको प्रदर्शन लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ ।
यसैगरी माघे संक्रान्तिको अवसरमा बर्दघाट नगरपालिका वार्ड नम्बर १५ स्थित धर्म बस्तीमा स्थानिय मगर समुदायको आयोजनामा माघे संक्रान्ति मेलाएवं दोस्रो मगर संस्कृतिक महोत्सवको आयोजना गरिएको नेपाल मगर संघ नवलपरासीका रित मान कामु मगरले बताए ।
नवलपरासीको विभिन्न स्थानमा बसोबास गर्दै आएका मगरहरुको आगमन मुख्य रुपमा पाल्पा जिल्लाबाट भएकाले नवलपरासी जिल्लाका मगरहरुको अधिकांश संस्कृति पाल्पाका मगर समुदायहरुसंग मिल्ने प्रकारको हुने भए पनि बसाई सराई गरि हिड्ने क्रममा मगरहरुको अन्य समुदायका मानिसहरुसंग हुदै गर्दा मगरहरुको सांस्कृतिक पहिचान लोप हुन लागेको भन्दै माघे संक्रान्तिको अवसरमा पछिल्लो वर्षदेखि मगर समुदायको मगर सास्कृतिक महोत्सवको रुपमा पनि मेलाको आयोजनागर्न थालिएको अध्यक्ष कामु मगरले बताए ।
बुधवारदेखि शुरु भएको यस दोस्रो मगर सांंस्कृतिक महोत्सव आगामी तीन दिनसम्म संचालन हुने बताईएको छ । यस सांस्कृतिक महोत्सवमा मगर समुदायको पारम्परिक खानाका परिकार बटुक, मुंगी, सुगुरको मासुको परिकार, कोदोको पारम्परिक छांङ लगाएतका परिकारहरुको स्टलहरु रहने छन भने विभिन्नप्रकारका सांस्कृतिक नाचहरु, पारम्परिक पोषकहरुको प्रदर्शन, पारम्पिरिक पहिरनहरुको प्रश्तुती समेत गरिने बताईएको छ ।
यसै गरि माघे संक्रान्तिको आवसरमा त्रिवेणी धाममा स्नान गर्नका लागिभारत एवं नेपालका विभिन्न स्थानबाट आउने भक्तजनहरुको घुईचो लागेको थियो । त्रिवेणी धाममा नेपालबाट भन्दा पनि भारतका उत्तर प्रदेश एवं विहार राज्यबाट ठुलो संख्यामा स्नान गरि पुजाआजा गर्नका लागि लाखौंको सख्यामा मानिसहरु आउने गर्दछन् ।