नेकपा महासचिव पौडेलदेखि व्यापारी मीनबहादुर गुरुङसम्म विप्लवको निशानामा


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले सुरक्षा थ्रेट दिएको भन्दै प्रहरीले सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेललगायतको सुरक्षा बढाएको छ ।



बुधबार साँझ बालुवाटारस्थित विवादित ललिता निवासको करिब २ सय रोपनी जग्गा काण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएपछि पौडेलसहित भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र जग्गा कारोबारी रामकुमार सुवेदीमाथि आक्रमण हुन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौं प्रहरीले सुरक्षा बढाएको हो ।

बनस्थली ढुंगेधारास्थित नर्सरी चोकनजिकै रहेको ढकालको घरमा विप्लव नेकपाले बुधबार बेलुका ८ बजे बम विस्फोट गराएको थियाे ।




विस्फोटनमा परी मानवीय क्षति नभए पनि ढकालको गाडी र घरको सिसामा भने क्षति पुगेको छ । विस्फोटलगत्तै विप्लव नेकपाले विस्फोटको जिम्मा लिँदै विवादित ललिता निवासको जग्गासमेत पार्टीले कब्जा गरेको भन्दै झण्डा र बमसमेत राखेको थियो ।

ललिता निवासको बम भने नेपाली सेनाको बम डिस्पोजल टोलीले राति नै डिस्पोज गरेको छ । विप्लव नेकपाले ललिता निवासको जग्गा प्रकरणमा व्यक्तिकाे नाममा हाल्ने भूमाफियालाई जग्गाबारे कुनै गतिविधि गरे कडा कारबाही हुने धम्कीसमेत दिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहका अनुसार भीआईपी र भीभीआईपी व्यक्तिमाथि कुनै सुरक्षा थ्रेट नहोस् भनेर काठमाडौं प्रहरीले उच्च सुरक्षा अपनाएको जनाए ।

‘ललिता निवासको जग्गासँग सम्बन्धित व्यक्तिको घरमा जसरी एक्कासि हिजो बम विस्फोट गराइयो त्यसले हामीलाई पनि झस्काएको छ,’सिंहले भने,‘हामी अरु कसैमाथि पनि कुनै प्रकारको सुरक्षा थ्रेट नहोस् भनेर लागि परेका छौं ।’

शोभाकान्तलगायतका केही व्यक्तिले डिल्लीबजार मालपोतका कर्मचारीलाई समेत प्रभावमा पारी ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोप छ ।

ललिता निवासको विवादित जग्गाको विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत अनुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...