सभामुखको चयनको विषय टुंग्याउन बालुवाटारमा बैठक




लामो समय देखि संसद्मा गतिरोध उत्पन्न गराएको सभामुख चयनको विषय निर्णायक छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको छ । शुक्रबार बिहान ९ बजेतिर नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् ।

पाँच दिनसम्म यस विषयमा कुनै छलफल नगरेका प्रचण्ड र प्रधानमन्त्री ओलीले बिहीबार सभामुख चयनको विषयमा छलफल गरेका थिए । छलफलमा सभामुख विषय टुंग्याउने सहमति भएपछि आज निर्णायक छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार प्रचण्डले आफ्नो अडान नछाड्ने देखिएपछि प्रधानमन्त्री ओली केही लचक देखिएका छन् । आजको छलफलबाट नेकपाभित्र अब अभामुख को हुने भन्ने निर्णय आउने प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

सभामुखका लागि अग्नि सापकोटा, पम्भा भुसाल र देव गुरुङको नाम चर्चामा छ । यीबाहेक हरिबोल गजुरेल, जर्नादन शर्मा या टोपवहादुर रायमाझी मध्येबाट पनि कुनै एकजना सभामुख पदका लागि अध्यक्ष प्रचण्डले प्रस्ताव गर्न सक्नेछन् ।

पूर्व माओवादीलाई नै सभामुख दिन ओली तयार भएमा नामका विषयमा भने ओलीको पनि रोजाइ हुनसक्ने बताइएको छ । लामो समयदेखि सभामुखको विषय टुंगो नलाग्दा संघीय संसद् बन्धक बनेको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई सभामुखको बाटो खुलाउन यसअघि नेकपा सचिवालयले राजनीनामा दिन अनुरो गरिसकेको छ । तर उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई सभामुख बनाउने निश्चित गरिए मात्र राजीनामा दिने अडान राख्दै आएकी छन् ।



सम्बन्धित
Loading...