मनाङ र थ्रीस्टारले अंक बाँडे




शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी र थ्रीस्टार क्लबले अंक बाँडेका छन् । शनिबार भएको खेलमा थ्रीस्टारले मनाङलाई २-२ को बराबरीमा रोक्दै अंक बाँडेको हो ।

यसको प्रत्यक्ष फाइदा भने नेपाल आर्मीलाई भएको । यदि उसले अब हुने खेल जितेमा लिग लिडर मात्र हुने छैन, सातौं राउण्डमा ३ अंकको अग्रता बनाउनेछ ।





त्रिपुरेश्वरस्थित दशरथ स्टेडियममा भएको खेलको पाँचौ मिनेटमै मनाङका विमल रानाले निशान लिम्बुको पासमा हानेको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

१९ औं मिनेटमा भारतिय खेलाडी लाल राम्मभराले फ्रिकमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । मनाङका पुजन उपरकोटीले बकस बाहिर हृयाण्ड गरेपछि पाएको फ्रिकिकमा उनले गोल गरे । उनले डेब्यू खेलमै गोल गरेका हुन् ।

४८औं मिनेटमा मनाङले पेनाल्टी पायो, जसमा अन्जन विष्टले बराबरी गोल गरे । थ्रीस्टारका शिव सुवेदीले अन्जनलाई पेनाल्टी एरियामा फाउल गरेपछि मनाङले पेनाल्टी पाएको थियो ।

निरन्तर दबाब बनाएको मनाङले ६९औं मिनेटमा अग्रता लिन सफल भयो । थ्रीस्टारका रुपेश केसीले हृयाण्ड गरेपछि कप्तान कमल श्रेष्ठको फ्रिकिकमा अन्जनले हेडमार्फत गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए । तर त्यो अग्रता लामो समय टिकेन । ८३औं मिनेटमा थ्रीस्टारले बराबरी गोल फर्कायो । यस पटक पनि लाल राम्मभराले गोल गरे । निशान्त खड्काको पासमा अनन्त तामाङको हेडर मनाङका गोलकिपर दिप कार्कीले पूर्णरुपमा क्लियर गर्न नसक्दा लाल राम्मभराले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीसँगै साविकको विजेता मनाङ ७ खेलबाट १३ अंक भएको छ । उसको समान आर्मी र मछिन्द्रको अंक छ र, आर्मीले एक खेल कम अर्थाथ कुल ६ खेल खेलेको छ । थ्रीस्टार भने ११ अंकसहित चौथो स्थानमा छ ।



सम्बन्धित
Loading...