प्रदेश ५ स्थापनाका अवसरमा ३ दिनसम्म एक्स्पो हुने

दाङ: प्रदेश ५ को स्थापना दिवसको अवसरमा प्रदेश एक्स्पो हुने भएको छ। आउँदो फागुन १०, ११ र १२ गते दाङको बेलझुण्डीमा हुने एक्स्पो हुन लागेको शुक्रबार दाङको बेलझुण्डीमा आयोजना गरिएको छलफल कार्यक्रममा प्रदेश ५ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए।
प्रदेश ५ को आयोजनामा हुने एक्स्पोमा प्रदेश ५का १२ जिल्लाका स्थानीय तहको विशेष प्रस्तुति रहने मन्त्री केसीले बताए। त्यसैगरी १२ वटै जिल्लामा उत्पादन भएका वस्तुको प्रदशनी राखिने समेत उनले बताए। एक्स्पोमा प्रदेश मन्त्रालयले २ वर्षको अवधिमा गरेका गतिविधि र आगामी योजनाका बारेमा समेत जानकारी गराइने समेत उनले बताए। प्रदेश ५ क्षेत्रमा रहेका प्राकृतिक तथा सांस्कृतिक वस्तुको बारेमा जानकारी गराउन एक्स्पोमा राखिने उनले बताए।
त्यसैगरी मन्त्री केसीले उक्त कार्यक्रमले एक मन्त्रालयबाट अर्काे मन्त्रालयले र एक पालिकाबाट अर्काे पालिकाले सिक्ने अवसर प्राप्त गर्ने समेत बताए। तीन दिनसम्म चल्ने एक्स्पोमा प्रदेश ५ भित्र भएका शिक्षा, स्वास्थ्य, प्रविधि जस्ताको बारेमा समेत जानकारी गराइनेछ। त्यसैगरी मगर, थारू, अवध संस्कृतिको विशेष प्रस्तुति रहने छ भने सारङ्गी वाद्यवादन समेत राखिने भएको छ। प्रदेश ५ को कला संस्कृति झल्काउने २ सय जनाको विशेष टिम तयार पारेर प्रदर्शनी गरिने बताइएको छ। नेपाली सेनाले एक्स्पोमा विशेष स्टल निर्माण गर्ने बताइएको छ। कार्यक्रम सूचना, प्रविधि, सञ्चार प्रतिष्ठानको बारेमा वृहत गोष्ठी समेत आयोजना गरिने छ।