दिलीपलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न सांसदको माग


राष्ट्रियसभा सदस्य मुक्ताकुमारी यादवले धनुषामा टिपरले किचेर मारिएका ‘दिलीप’ भनिने ओमप्रकाश महतोलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न माग गरेकी छन्।



आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा सांसद यादवले दिलीपको परिवारलाई क्षतिपूर्ती दिन र हत्यारालाई कानुनअनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्। पर्यावरण संरक्षणमा जुटेका अभियान्ता दिलीपको हत्यापछि उसको घरपरिवार बिचल्लीमा परेको भन्दै यादवले उसको परिवारको संरक्षण गर्नसमेत सरकारसँग मागसमेत गरिन्।

घटनाको एक साता बितिसक्दासमेत प्रहरीले दोषीमाथि कारबाही अघि नढाएको भन्दै सांसद यादवले यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्। स्थानीय प्रशासनको आडमा यस्ता घटना देशभर भइरहेको दाबी गर्दै उनले जबसम्म नीतिगत भष्टाचार रोकिँदैन तबसम्म हत्याहिंसा बलात्कार जस्ता घटना नरोकिने बताइन्। यसअघि पनि सांसदहरूले दिलीप हत्याकाण्डबारे सदनलाई जानकारी दिन र दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्दै आएका थिए। दिलीपको पुस २५ गते बिहान टिपरले किचेर हत्या गरिएको थियो।




पीडित परिवारले क्रसर संचालक विपीन महतो, दिलीपलाई बोलाएर लगेका रोषण यादव, वडाध्यक्ष श्यामबाबु यादव र इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवको समेत हत्यामा संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।



सम्बन्धित
Loading...