भ्रष्टाचार सूचकांकमा नेपाल ११ स्थान माथि उक्लियो

भ्रष्टाचार व्याप्त मुलुकको सूचीमा भने कायमै



भ्रष्टाचारसम्बन्धि सूचकांकमा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष १२४ औं स्थानमा रहेको नेपाल अहिले १ सय १३ औं स्थानमा रहेको छ । यद्यपि नेपाल अझै पनि विश्वका भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा छ ।



ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार विश्व बैंकसहित विभिन्न ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा रिपोर्ट सार्वजनिक गरेको हो । सीपीआई २०१९ मा नेपालले १०० मा ३४ अंक पाएको छ । गत वर्ष नेपाल नेपाल ३१ अंकसहित १२४ औं स्थानमा थियो ।

सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले देखाएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले उल्लेख गरेको छ ।




तर अझै पनि सरकारको भ्रष्टाचार विरोधी प्रतिबद्धता अनुरुप कार्यान्वयन नहुनु, सार्वजनिक क्षेत्र र व्यापार व्यवसायमा भ्रष्टाचार र अधिकारको दुरुपयोग यथावत रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राज्य सञ्चालनमा सीमित समुहको पकड रहनु, राजनीतिक क्षेत्र भ्रष्टाचार नियन्त्रणमा गम्भीर नहुनुजस्ता दीर्घकालीन समस्याहरुमा सुधार नभएको उल्लेख गरिएको छ । सोही कारण नेपाल अझै पनि भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा नै रहेको छ ।

१३ विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिएकोहो छ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ । यो सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गर्न थालिएको हो ।

यस वर्षको सूचकांकामा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८७ अंकसहित सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने सोमालिया ९ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।

सीपीआई २०१९ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अर्थात् औषत ४३ अंक (स्कोर) पाएका छन् । २२ देशले आफ्नो स्कोरमा राम्रो सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ ।

सुधार भएका देशमा निर्वाचनसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन र राजनीतिक तहमा सरोकारवालासँग व्यापक रुपमा सल्लाहर सुझाव लिने प्रवृति देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार ‘सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायहरूप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपात रहित बजेट र सेवामा सरोकारवालाहरुको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वमा संम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालहरुको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृतीहरुको अन्त्य तथा नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरुको सशक्तिकरण जस्ता विषयको संबोधनबाट भ्रष्टाचार नियन्त्रण गर्न र राजनीति प्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

सीपीआई २०१९ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटान ६८ अ‌ंक प्राप्त गरी २५ औं स्थान, भारत ४१ अंक प्राप्त गरी ८० औं स्थान, श्रीलंका ३८ अंक प्राप्त गरी ९३ औं स्थान, नेपाल ३४ अंक प्राप्त गरी ११३ औं स्थान, पाकिस्तान ३२ अंक प्राप्त गरी १२० औं स्थान, मालदिभ्स २९ अंक प्राप्त गरी १३० औं स्थान, बङ्गलादेश २६ अंक प्राप्त गरी १४६ औं स्थान र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीनले ४१ अंक प्राप्त गरी ८० औं स्थानमा रहेको छ ।



सम्बन्धित
Loading...