नवलरासीका उखु किसानद्वारा आन्दोलनको घोषणा
नवलपरासी । नवलपरासीका उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् । सरकार र चिनी उद्योगी बीच भएको सहमति अनुसार माघ ७ गतेभित्र उखुको भुक्तान दिनु पर्नेमा भुक्तान नगरेका कारण उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
नवलपरासीमा २५ करोडको हाराहारीमा उखु किसानहरुले उखुको मूल्य भुक्तान पाउन बाँकी रहेको छ ।
नवलपरासीमा रहेका चिनी कारखानाहरु मध्ये इन्दिरा सुगर मिलको ११ करोडको हाराहारीमा, लुम्बिनी चिनी कारखानाको करिब ११ करोड र बाग्मती खाडसारी मिलको करिब ३ करोड ५० लाख रुपैयाँ भुक्तान बाँकी रहेको छ ।
उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले सोमबार एक विज्ञप्ति जारी गर्दै सडक अवरुद्ध पार्नेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले सरकारसँग भएको सहमति पनि कार्यान्वयन नगरी किसानलाई करोडौं रुपैयाँ चिनी मिल सञ्चालकहरुले भुक्तान नगरेका कारण आन्दोलन गर्नु परेको बताएका छन् ।
नवलपरासीमा रहेका ३ वटा चिनी कारखाना मध्ये लुम्बिनी चिनी कारखानाका कारखाना सञ्चालकले नै बन्द गरेको छ भने इन्दिरा सुगर मिल किसानहरुको आन्दोलनका कारण बन्द छ ।
बागमति खाडसारी मिल मात्र सञ्चालनमा रहेको उक्त मिलले भने क्रमशः रकम भुक्तान गर्दै गएको यादवले बताए ।
