नवलपरासीमा दुईवटा टाउको भएको सर्प फेला
सर्प अनुसन्धानकर्ता रूपन्देहीका कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेको छ । नवलपुरको दलदलेमा दुई टाउको भएको करेत सर्प फेला हो ।
दलदलेका जुद्धवीर श्रीस मगरले आफ्नो घर नजिकै उक्त सर्प देखेपछि त्यसलाई समातेर कालीगण्डकी अस्पताल पुर्याएका थिए। त्यसलाई देवकोटाको समूहले अध्ययन गरेर सुरक्षितसाथ राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमुख डाक्टर छबिलाल थापाले बताए।
त्यस्तै, देवकोटाकै समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्री) पनि फेला पारेको छ। उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीको रहोबरमा जिउँदै छाडिएको रेन्जर सन्तबहादुर मगरले बताए।

‘दुवै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भसिटीस्थित ली कोग चेन प्रकृतिक विज्ञान संग्राहलयमा राखिएको छ,’ देवकोटाले भने, ‘ब्यान्डड कुक्रीको बारेमा तयार पारिएको विस्तृत अध्ययन अनुसन्धान अमेरिकाको रेप्टाईल एन्ड एम्फिबियन कन्जरभेसन जर्नलमा प्रकाशित हुने तयारीमा छ।’ दुईवटा टाउको भएको करेत सर्प अनुसन्धान सम्बन्धी लेख रेप्टाइल एन्ड एम्फिबियन कन्जर्भभेसन जर्नलमा प्रकाशित छ।
देवकोटा र उनको समूहले तीन वर्षदेखि तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, सर्लाही लगायतका जिल्लामा सर्पको अनुसन्धान गर्दै आइरहेको छ। रुपन्देही जिल्लामा मात्र २३ प्रजातीका सर्प भेटिएको उनले बताए। विश्व स्वास्थ्य संगठनको सन् १९८७ को तथ्यांक अनुसार यी जिल्लाहरुमा सर्पको टोकाइबाट वर्षेनी १ हजार भन्दा बढीको मृत्यु हुने गरेको छ।