तीनजना लागुऔषध तस्कर गोली प्रहार गरी पक्राउ
मकवानपुर प्रहरीले गोली प्रहार गरी मंगलबार राति गाँजा तस्करलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत मजफपुरमा ३५ वर्षीय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन रहेका छन्।
हेटौंडा-११ थानाभर्याङमा प्रहरी चेकिङ टोलीले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको बीआर ०६जे ४४५८ नम्बरको कार रोकी जाँच गर्न खोजेको थियो। कार नरोकी भैरवडाँडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए।
हवाई फायरबाट पनि कार नरोकिएपछि टायरमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो। पक्राउ गर्न खोज्दा हातापाही भएपछि पक्राउ जाहेरा खातुन सामान्य घाइते भएको र सामान्य उपचार गरेर नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ।
कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ वटा पोकामा लुकाई राखेको ३२ किलो गाँजा बरामद भएको बुधबार भएको पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरले जानकारी दिए। उक्त कार मनहरी चेकपोष्ट, नेवारपानी चेकपोष्ट र लेवट चेकपोष्टमा रोक्न खोज्दा नरोकी भागेको थियो ।
गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन्। उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।