नवलपुरमा बुद्धिचाल प्रतियोगिता शुरु

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबारबाट बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ ।
नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरको आयोजनामा भएको प्रतियोगिता ३ दिनसम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डे, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, नेपाल बुद्धिचाल संघका केन्द्रिय सचिव धर्म लामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नवलपरासी जिल्ला बुद्धिचाल संघ नवलपुरका अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम गोपीनाथ कंडेलको स्वागत र सचिव विश्वनाथ पाण्डेको सञ्चालनमा भएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले बुद्धिचाल खेल एउटा खेल मात्र नभएर मानिसलाई ध्यान केन्द्रित गराउने र बौद्धिक क्षमता पनि बढाउने खेल भएकोले बुद्धिचाल खेल निक्कै राम्रो भएको बताएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार रुपैयाँ, द्वितीय हुनेलाई ९ हजार रुपैयाँ, तृतीय हुनेलाई ६ हजार रुपैयाँ, चौथो हुनेलाई दुई हजार रुपैयाँ र पाँचौ हुनेलाई १ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।
त्यसैगरी कम उमेर समूहका एक जना पुरुष र एक जना महिला, उत्कृष्ठ खेलाडि एक जना, शारिरीक रुपमा असक्त खेलाडी एक जना र बढी उमेर समूहका एक जना गरी ५ जनालाई नगद एक हजारका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष बाबुराम पोख्रेलले बताए ।